• बिहीबार २-१०-२०८१/Thursday 05-23-2024

सहरसँग मनका कुरा!

'मलाई तिम्रो सहरको धूलोसँग पनि प्रेम छ।’

यो सहरका सडक र गल्लीहरूमा म कैयौं पटक यस्तै बड्बडाउँदै एक्लै हिँडेकी छु।

सहरसँग प्रेममा पर्नु चानचुने कुरा होइन। अझ धूलोसँग।

'ए धूलैसँग?' मेरा साथीहरूले सुनेको भए मलाई प्याराग्लाइडिङले झैं उडाउने थिए।

यो सहरको एउटा कुनामा प्याराग्लाइडिङ उड्छ भनेर हिजै एउटा साथीले सुनाएको थियो। चरा झैं उड्ने रहर मलाई पनि नभएको होइन।

'तर मलाई त यही सहरको धूलो मन पर्न थालेको छ,' मैले मनमनै आफैंलाई व्यंग्य कसेँ। व्यंग्य पनि के भन्नु र।

मान्छेहरू भन्छन्, प्रेमले बर्वाद बनाउँछ। उर्दूमा प्रेमको अर्को नाम 'तबाही' हो भनेको पनि पढेकी छु कतै। यो सहरको धूलोले बोल्न सक्ने भए भन्थ्यो होला- मलाई प्रेम नगर, म तिम्रो जिन्दगी 'रूइन' गर्न चाहन्नँ। त्यो बर्वादीको भागिदार बन्न चाहन्नँ।

प्रिय धूलो, तिमीसँग प्रेम नगर्ने मान्छे बर्वाद हुनबाट जोगिएको छ र?

फेरि मान्छेले त बर्वादी, तबाहीमा पनि आफ्नो अर्थ खोज्छ, भेट्छ। जसरी यो धूलोले भरिएको महानगरमा आफ्नो अर्थ भेटेँ मैले। धूलो र धुँवाले रगमगिएका राता आँखा फार्दा-फार्दै हाम्रो अन्तरदृष्टि खुल्छन् एकदिन। अनि हामीले स्पष्ट देख्नेछौं— धूलोसँग 'पनि' प्रेम हुनु एउटा कुरा, यसले बर्वाद गर्नु अर्कै कुरा। प्रेमका अघि बर्वादीको के डर? प्रेमभन्दा पहिले बर्वादी त आउँदैन होला नि!

यो धूले सहरको अर्को कुनामा प्याराग्लाइडिङ छ भनेर सुन्दा साथीको बाइक चढेर सर्वोच्च अदालत जाँदै थिएँ। यो त्यही अड्डा हो जसले सहरको धूलो हटाउन एक वर्षअघि सरकारलाई आदेश दिएको थियो।

सर्वोच्चको आदेशले थोडी चल्ने हो यो सरकार? ऊ त दुई-तिहाईले चल्छ। बुझिराख्नू, दुई-तिहाईको दम्भ दुई-तिहाई जनमतभन्दा ठूलो हुन्छ।

ताज्जुब छ, यो जाबो शासन सहमतिले चले पनि, दुई-तिहाईले चले पनि, तिम्रो सहरमा धूलो उड्न छाडेको छैन। छाड्ने छैन।

धूलो साश्वत छ, प्रेम जस्तै। धूलोसँगको प्रेमको झन् के कुरा!

त्यही धूलो भरिएको बतासले आँखालाई हानेर गयो। हुँइकिएको बाइकले सँधै धूलोकै पक्ष लिन्छ। उसैलाई सहयोग गर्छ। मैले आँखा चिम्म गर्दै फोनमा साथीलाई भनेँ- उड्न मन लागे खबर गर्छु।

मन त मेरो सँधै उडिरहेकै हुन्छ।

चरा झैं तन पनि उड्न पाए!

उबेला बारीको कान्लामा काट्दाकाट्दैको आधा पाँजो घाँस यत्तिकै छोडेर माथि आकासमा उडिरहेको चरा हेर्दै टोलाउँथेँ म। मलाई आकाशमा उड्ने चरा, बादल र चम्चमाउने तारा देखेर सँधै इर्श्या लाग्छ।

रूमानी सम्झनामा अल्झिनु, कल्पनु एउटा कुरा। साँच्चै चरा झैं उड्न पाउनु अर्कै कुरा।

मलाई प्याराग्लाइडिङ चडेर धूलोले भरिएको यो सहरको आकाशमाथि उड्ने रहरले लपेटिरह्यो।

राग धेरै भयो भने वैराग चल्छ भन्छन्। त्यसैले हो कि मलाई पनि यो सहर च्याट्टै छोडेर भाग्न मन लाग्छ कहिलेकाहीँ। महानगरको कोलाहलबाट कतै सुदुर सुनसानमा अवतरण गर्ने कल्पनाले पनि नकुत्कुत्याओस् त? तर बानी परेको ठाउँ छोड्नु, मन परेको मान्छे बिर्सिनु कहाँ सजिलो छ र! आखिर जे मा बसे पनि माया त माया हो!

आजकाल त ठाँउ छोडेर फुत्त हिड्ने जाँगरसम्म चल्दैन।

मैले सम्झिरहेँ- पहिलेपहिले उठेर हिँडिहाल्ने कत्रो जाँगर चल्थ्यो। आफैसँग एक्लै बात मार्दै हिँड्न मलाई खुब मनपर्छ। रिस उठेका मान्छे सम्झिदै बाटोमा भेटिएका ढुंगालाई खुट्टाले हुत्याउन पनि खुब मज्जा हुन्छ।

झमक्कै साँझ परेपछि मैले साथीलाई फोनमा भनेँ- म पनि उड्न आउँछु।

मलाई त किन हो किन उड्ने रहरभन्दा पनि उठेर कतै घुम्न जाँदैछु भन्ने भानले रंगाइरह्यो। बाँध फुटेर जमेको पानी बग्न पाए झैं मेरा मनका भावना बेतोड बगिरहे।

मान्छेलाई सायद नियमित कुरा मननपर्ने हो। बिहान उठेर अफिस जानु नियमित कुरा हो। नियमित भनेकै नियम हो। सुटुक्क कतै भाग्नु नियम विपरीत हो। मनपरी हो। मान्छेलाई मनपरी गर्न खुब मनपर्छ।

काठमाडौं प्याराग्लाइडिङ अफिस छेउको रेष्टुरेन्ट छिर्दा पारिलो घामले टेबलमा पर्खेको रहेछ। १५ वर्षअघि पिकनिक गर्न गोदावरी जंगल आउँदा त हाम्रो बाटो हुस्सुले छेकेको थियो। हल्लाबाज केटाकेटीहरू बोकेको गाडी हुस्सुसँग पैठेजोरी खेल्दै एकनास गुडिरहँदा मेरो मन खुबै रोमान्चित थियो।

आजकाल तिम्रो सहरको हुस्सु कहाँ गयो? जान्नेहरू भन्छन्- धूलोले खायो। हुस्सु खाने धूलो!

'लालीगुराँस पनि फूल्न छिट्टै थालेको छ,' टेबलमा बसेका एकजना साथीले जंगलतिर हेर्दै भने, 'ग्लोबल वार्मिङको असर भन्छन्।'

चैतमा फूल्ने लालीगूराँस माघमै फूल्न थालेपछि सक्किएन त?

किन सकिन्थ्यो। जहिलेसम्म घुमिरहन्छ पृथ्वी, फूलिरहनेछ लालीगूराँस। गर्मीमा फूले पनि, जाडोमा फूले पनि। फूल्नु उसको धर्म हो।

फूले भइगयो नि!

मान्छेको धर्म के हो?

कर्म।

शेक्सपियरले भनेथे 'अकर्मभन्दा आलोच्य कर्म गर्नू।'

अनि मैले मनमनै व्यंग्य कसेँ— मान्छेले धेरै कर्म गरेर ग्लोबल वार्मिङ बढ्यो। अनि चैतमा फूल्ने गुराँस माघमै मुस्कुरायो।

प्याराग्लाइडिङमा उड्ने बेला भयो।

'उड्दा-उड्दै म मरे पनि तिम्रो कम्पनी जिम्मेवार हुने छैन भन्ने कागजमा हामीले ल्याप्चे ठोक्यौं।’

सहरको धूलोसँग प्रेममा परेको यो जीन्दगीले हावासँग कावा खेल्न ज्यान गए जाओस् भनेर ल्याप्चे लायो।

आखिर काठमाडौंको हावामा धूलो बाहेक के नै छ र!

त्यहीबेला काठमाडौं प्याराग्लाइडिङका सञ्चालकमध्ये एक निरज पन्त मुस्कुराउँदै आए।

सपनाजीले भनिन्, 'केही त हुन्न होला नि?’

उमेशजीले सोधे, 'हामी उड्दा-उड्दै अर्कोतिरबाट जहाज आयो भने?'

‘आउँदैन, आउँदैन। गोदावरी जंगलमाथिको आकास सरकारले हामीलाई दिएको छ,' निरजजीले भने।

दुई-तिहाईको सरकारलाई आकाश दिन के गार्हो। प्याराग्लाइडिङ उड्ने ‘बाटो' बनाउन के गार्हो। आकाश लैजाने डाँडामा बाटो पुर्याउन पो गार्हो।

सडक पूरै कच्ची रहेछ।

'निकै बिग्रेको थियो। हामी आफैंले गुड्न हुने बनाएका छौं,' उनले भने।

मान्छेलाई आकाशमा उडाउनु निरजको बिजनेस हो। २०१२ तिरैबाट कोरियन नागरिकसँग मिलेर उनी र उनका साथीले प्याराग्लाइडिङ सुरू गरेका रे।

'भुइँचालोले बर्वाद गर्यो हेर्नुस्,' उनले भने, 'यो डिसेम्बरपछि फेरि हामीले रिभाइभ गर्‍यौं।’

निरज भर्खरै दुइटा ‘टुटल' भ्याएर आएका रे। फुर्सद भयो कि टुटलमा मान्छे ओसार्दा रहेछन्। काम नगरी उनी बस्नै सक्दैनन् रे। कसरी मान्छेहरू यत्तिकै बस्न नसकेका?

हेर्छु, आफ्नो भने जाँगर निख्रँदो छ। उनको कति धेरै।

त्यसमाथि, कति फरासिला?

उड्ने रहर भए पनि साथीहरूको मनमा धुकचुक गरेको सायद निरजले पढे। उनले सम्झाए – यो ९९ प्रतिशत सुरक्षित छ।

'दिनमा १५/२० जनालाई उडाउँछौं हामी। अहिलेसम्म केही भएको छैन,' उनले भने।

केही ढुक्क हुँदै हामी खाना खान बस्यौं।

हामीलाई डाँडासम्म लिएर जाने बस आएछ।

'बसको छतमा चढेर जाने,' सपनाजीले यसो भन्दा मेरा कान ठाडा भइसकेका थिए। उनले अलमल गरिन्। म भने चढिहालेँ।

कच्ची र उकालो सडक हुँदै बस जंगलतिर पस्यो।

गाडी गुड्दा हामी उचालिँदै छतका डन्डीमा थेचारिन्थ्यौं। भित्रको हड्डीसमेत दुख्थ्यो।

नारायणजीले भने- यहाँबाट खसियो भने?

अकस्मात् हुनसक्ने दुर्घटनाबारे सोच्यो भने वर्तमानमा बाँच्नै सकिन्न। आकाश खस्छ कि भनेर सोच्ने हो भने धर्तीमा बाँच्न दुष्कर हुन्छ। मेरा बा’ले चिठ्ठीमा यस्तै लेख्नुहुन्थ्यो।

चिसो हावाले अनुहार छुँदै कपाल उडाएर भाग्यो। म फुर्किरहेँ। साथीहरूसँग गफिइरहेँ। घुम्तीहरू छिचोल्दै गाडी माथिमाथि चढ्दै थियो।

मलाई अकस्मात् जंगलमा हराउन पाए...भन्ने लाग्यो।

के हुन्थ्यो जंगलमा हराउन पाए?

डराउँथेँ। भोकाउँथे। लड्थेँ। चोट लाग्थ्यो। झार उखालेर दल्थेँ। उभिन्थेँ। फेरि हिँड्थेँ। जंगली फूल देखेर हाँस्थेँ। केही पाए खान्थेँ। आत्तिन्थेँ। कहालिन्थेँ। चिच्याउँथे। फेरि बाटो खोज्थेँ।

बाटो भेटाएपछि घर फर्किन्थेँ, जसरी गएको हो उसैगरी! तर उस्तै हैन, अर्कै भएर।

यसरी हराउने खुब रहर छ मलाई।

'हेर्नु त लालीगुराँस,' उमेशजीले देखाए। निलो आकाशमुनि हरियो जंगलबीचमा टक्रक्क उभिएको रातो रूख देखेर म मुस्कुराएँ, जसरी त्यो रूख मुस्कुराएको थियो।

मलाई आफ्नै मुस्कानसँग प्रेम हुन्छ जब फूल देखेर म हाँस्छु।

नारायणजीको शंका बेकार साबित गर्दै गाडी चापाखर्कको डाँडामा रोकियो। ठ्याक्कै निलो आकाशमुनि, हिमालपारि, जंगलको शिरमा।

बीचमा खरबारी थियो। त्यहीँ लगेर पाइलटहरूले हामीलाई उडाउने ग्लाइडर बिसाए। हामी फोटो खिच्ने ध्याउन्नमा भुल्यौं। थरीथरीका पोज दिएर फोटो खिच्दाखिच्दै आधा/एक घण्टा त यस्सै बित्छ।

उता पाइलटहरू पनि यत्तिकै बसिरहेका छन्!

'किन बस्नु भएको?' हामी बस्न थोडी आएका हौं भन्ने भाकामा मैले सोधेँ।

'हावा चल्यो,' एकजनाले सासैसासले साउती मारे झैं भने। यिनको जिस्किने बानी रै’छ भन्ठान्दै थिएँ। काठमाडौंको धूलो र चिसोले उनको घाँटी समातेको पो रहेछ।

एकनासको सिरेटो चलिरहेका बेला म ब्यागमा पल्टेँ र आकाश हेरेँ।

निलो आकाशमा कहाँसम्म हेर्न सकिन्छ? खुला आकाशमुनि सुत्न पाउने बित्तिकै मेरो मनमा जहिले यस्तै नौटंकी प्रश्न सुझ्छ। एकटक हेरिरहेँ। देखेँ- सबभन्दा साना चम्किला पानीका बुँद जस्तै जिनिसहरू हावामा नाचिरहेका। एकैछिनमा त्यहाँ नदीका लहरजस्तै तरंगहरू पौडिरहेका। छक्क परेँ।

मान्छे आफूसँगमात्रै हुँदा उसले आफूलाई देख्छ। अनि संसारलाई। जसरी म यो जंगलमा साथीहरूबीच पनि एक्लै छु। एक्लै आफैंसँग पनि रमाइरहेकी छु। जो आफूसँग एक्लै रमाउन सक्दैन, ऊ साथीहरूसँग पनि रमाउन सक्दैन रे। यस्ता सूत्रहरूमा मलाई उतिसारो विश्वास त छैन। तर कहिलेकहिले तिनै सूत्रहरूले भित्रैदेखि हल्लाइदिन्छन्। शब्दको तागत सायद त्यही हो, त्यसले मान्छेको अन्तरलाई छोइदिन्छ।

तल काठमाडौंतिर धूलोले सहरलाई बेरिरहेको थियो। धूलोको अंगालोबाट फुत्केर ममाथि डाँडामा आइपुगेकी छु, हावासँग झुत्ति खेल्न।

पाइने हो वा होइन जस्तै भइसक्यो।

सासैसासमा बोल्ने पाइलट पनि हेलमेट लगाएर ब्यागमा पल्टिएछन्।अर्का पाइलट चुरोट सल्काउँदै छन्।

'क्रक्स छ अझै एक्छिन कुरौं,' ग्लाइडर यत्तिकै थन्काएर बसेका पाइलटले भने।

जंगल पसेकी सपना त्यहीबेला गुराँसका थुंगा लिएर आइन्। रातो थुंगाले हामी सबैको मन एकैचोटि रंगायो सायद। हामी पनि जंगल पस्यौं। बुद्ध धर्मका मन्त्रहरू लेखिएका ध्वजा फर्फराइरहेका थिए। तिनकै मुनिबाट हामी भित्र पस्यौं। नारायणजी त रुख देख्ने बित्तिकै गुराँस टिप्न चढिहाले। म किन उनको बाटो हेरूँ? अर्को रूख चढेर मैले एउटा हाँगो टिपेँ।

'नटिप्नू हेर कोपिला, चुँडेर पाप लाग्दछ' भन्ने महाकविको कविता नसम्झेको होइन। तर पनि टिपेँ। मान्छे जहिले पनि सूत्रमा कहाँ बाँधिन सक्छ र? अर्काको दर्शनको भारी कसरी बोक्न सक्छ र!

गुराँस टिप्दै, खाँदै, फोटो खिचाउँदै हामीले अर्को घण्टा काट्यौं।

फर्किएर आउँदा पाइलटजीको गोजीमा मोबाइल घन्किरहेको थियो— तेरि आनेकी खुसीमेँ, मेरा दिल मचल ना जाए।

प्याराग्लाइडिङ चढेर दिल मचल्न भने नपाइने भयो। हावा उस्तै बेपरवाह थियो।

उता उत्तरतिरबाट एउटा जहाज काठमाडौंको आकाशमाथि छिर्‍यो।

'यता त आउँदैन?' उमेशजीले निरजलाई जिस्काए।

'यता आउने हिम्मतै गर्दैनन्,' निरजजीले बडो आत्मविश्वास साथ भने।

व्यापारीहरू धर्तीमा मात्र होइन, आकाशमा पनि आफ्नो साम्राज्य चलाउन सक्दा रहेछन्।

एकनासको सिरेटोले हामीलाई चुट्नसम्म चुट्यो। तै हावा थामिइ पो हाल्छ कि भनेर चियापानी खानधरि हामी तल झरेनौं।

एकजना साथीले दाउरा बटुलेर आगो बाले।

'हेरिराख्नू है, आगो सिधा भएर बल्यो भने हामी उड्न सक्छौं,' पाइलटले भने।

आगोलाई बतासले आफू गएतिरै लपेटिरह्यो। आगो सिधा बल्दै बलेन।

प्याराग्लाइडिङको इन्जिन पनि यही, पेट्रोल पनि यही, अनि दुस्मन पनि यही। पाइलटहरूले हावाको बखान र बदख्याँई एकैपटक गरे।

हावा केहीबेर शान्त भयो। आशाको टुसो पलायो। एकजना पाइलटले हामीलाई इस्न्ट्रक्सन दिन थाले। हामी गोलाकार भएर उभियौं।

उनको इन्स्ट्रक्सन नसकिँदै बेइमान हावा फेरि बेपत्ता हुइँकिन थाल्यो।

‘तलबाट माथितिर हावा आएको भए वेग जति भए पनि उड्न सकिन्थ्यो। तर यो त यताबाट उता आइरहेको छ। हामी उड्न सक्दैनौं,’ उनले पूर्वपश्चिम हात क्रस पारेर देखाए।

थपे, 'आज पहिलोपटक यस्तो भयो।'

निरजजीले भने, 'आज प्याराग्लाइडिङ हैन, प्याराविण्ड भयो।'

'हावा बेइमान हुन्छ यसले धोका दिन्छ प्रेमिकाले झैं,' नारायणजीले आगो ताप्दै थपे, 'त्यसैले त छोडेर जानेहरूलाई मान्छेले हावा भन्छन्।'

चरा झैं उड्न नपाए पनि रमाइलो भयो। हावाले धोका दिएर के भो, हामी फूलसँग खेल्यौं। जंगल घुम्यौं, हिमाल हेर्‍यौं। नयाँ साथी बनायौं।

फेरि खाल्डोमा झरेपछि धूलो छँदैछ। माया छँदैछ।

प्रतिकृया दिनुहोस

म २९ वर्षअघि ट्राफिक हुँदा ड्रममा उभिएर हात हल्लाउँथें, अहिले पनि त्यस्तै छ

हाम्रो ट्राफिक व्यवस्थापन ‘ढुंगेयुग’ मा छ। धेरै समय भयो, काठमाडौं उपत्यकामा सवारी जाम नियन्त्रण र ट्राफिक सहायताका लागि राखिएका ट्राफिक

ओली सरकारले वर्ष दिनमा नगरेका काम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वर्ष दिन पुगेको अवसरमा बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्नुभयो। सम्बोधनमा सरकारले वर्ष दिनमा गरेका कामको

आकस्मिक गीतले तातेका सुखसमृद्धिका कानहरु !

नेपालका कतिपय राजनेताहरुले भनेको सुनिएको छ, राजनीति गर्नेहरुका लागि साहित्यको केहीे काम छैन । गीतसङ्गीतको काम छैन । कुनै उपयोगिता नै छैन ? यसतर्पm