• बिहीबार २-१०-२०८१/Thursday 05-23-2024

"रेडियो बिपतको साथी" -प्रतीक इच्छुक शर्मा

१ फागुन २०८०, मंगलवार

पत्रकारितामा क्रियाशील भएको २१ वर्ष पुगेछ । जसमध्येका १५ वर्ष त रेडियो मै बितेका छन् । रेडियो पत्रकारिताको अनुभव अझ आरम्भका दिनको क्रेज त सुनाएर साध्यै छैन ।

तथापि विगतका भोगाई र वर्तमानका अनुभूति बाँडौँ भन्ने लाग्दो रहेछ । बुबाले घरको पिँडीमा ठुलो स्वरमा रेडियोमा घटना र विचार र बीबीसी नेपाली सेवा बजाएको मनमा ताजै छ ।

रेडियोमा बज्ने ‘फोन इन’ कार्यक्रम सुन्दा हाम्रो गाउँमा टेलिफोन कहिले आउला जस्तो लाग्थ्यो । तर, गाउँमा टेलिफोन नपुग्दै आफैँ रेडियोमा आवाज दिन पाउने भइयो ।

मुलुकमा माओवादी जनयुद्ध र २०६२/०६३ को जनआन्दोलन हुँदै शान्ति प्रकृयामार्फत राजनैतिक परिवर्तन भएको थियो । यो समय सञ्चारमाध्यम स्थापनाको लहर नै चलेको समय थियो ।

२०६५ सालमा ग्रामीण विकास सञ्चार केन्द्रद्वारा सल्यानको खलङ्गामा सामुदायिक रेडियो शारदा एफएम सुरु भयो । यसअघि सल्यानमा राप्ती एफएम र सल्यान एफएम सञ्चालनमा थिए । शारदा एफएम ५ सय वाट क्षमताको भएकाले प्रसारणको पहुँच राम्रो थियो ।

सामुदायिक रेडियो शारदा एफएमको स्टेसन म्यानेजरको जिम्मेवारीसहित रेडियोमा प्रवेश गरे पनि रेडियोमा बोल्ने हुटहुटीले कार्यक्रम प्रस्तोताको रूपमा श्रोतामाझ पुगियो । 

सानोमा रेडियो सुन्दै गर्दा यहाँ कसरी मान्छे अटेका होलान् भन्ने जिज्ञासा पलाउँथ्यो । आफूभन्दा अलि जान्ने सुन्नेहरूले पनि त्यहाँभित्र साना–साना मान्छे हुन्छन् अनि बोल्छन् भन्थे । रेडियो सेटभित्र पनि मान्छे अटेका छन् ।

उनीहरू बोल्छन् । रेडियोको प्रसारण बन्द भएका बेला उनीहरूलाई भोक लागेर खाना खानका लागि गएका होलान् भन्ने लाग्थ्यो । सानो बेलामा, म एक दिन रेडियोमा बोल्ने मान्छे हुन्छु भन्ने त कल्पना पनि थिएन ।

तर उमेर बढेसँगै, पत्रकारिता सिक्दै गर्दा रेडियोका बारेमा बालापनमा रहेको रेडियोभित्र मान्छे हुन्छन् भन्ने भ्रमको अन्त्य त भएको थियो । तर, आफू रेडियोमा बोल्ने रहर भने पूरा भएको थिएन । अहिले सम्झँदा सानो बेलाका सोच, चाहना, सपना यतिकै पूरा हुँदा रहेछन् भन्ने लाग्छ । 

परिवर्तन र शान्तिका लागि रेडियो शारदा एफएम कार्यरत भएपछि रेडियोको क्रेज बल्ल थाहा पाएँ । रेडियोमा समाचारमूलक, शिक्षामूलक, मनोरञ्जनात्मक, ज्ञान विज्ञान र साहित्यिक र हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि प्रसारण गर्न थालियो । म आफै साझा मन्च अन्तरबार्तामुलुक र मझेरी साहित्यिक कार्यक्रम चलाउथे।

रेडियो शारदाका दर्जन बढी कार्यक्रम श्रोताको सहभागिता अनिवार्य रहने खालका कार्यक्रम थिए । आफ्ना मनका भावना पत्रमार्फत अभिव्यक्त गरेर श्रोताले रेडियोलाई साथीको रूपमा गरेको माया प्रेरणादायी छ ।

गीति कथा, कविता, गजल, श्रोताका भावना र रोजाइका गीत, अतीतका डायरीजस्ता विषय मार्फत अभिव्यक्त श्रोताको सहभागिता अद्भुत लाग्दछ । हुलाकीले लिएर आउने चिठ्ठी सबै रेडियो शारदाकै नाममा आएका हुन्थे । हुलाकी नै रेडियो कार्यक्रमबारे जानकार भएको सुनाउँथे ।

रेडियोमा आउने चिठी केवल चिठी मात्र थिएनन् । जीवनका भोगाई, सङ्घर्ष, वीरता, समाजका उज्याला मार्ग पनि थिए । मनका साथी थिए । जीवन दर्शन थिए । आफ्नै मनलाई साथी बनाउन नसक्ने पिरोलिएकाहरूको निकट साथी थिए । मनका भावना अरूलाई साट्दा पनि मन निको बनाउने जीवन बुटीका माध्यम थिए ती चिठी ।

रेडियोमा कार्यक्रम रेकर्डमा लागि पुग्दा श्रोताले पठाएका चिठ्ठी पत्र देखेर अचम्म लाग्थ्यो । बोराका बोरा चिठ्ठी हुन्थे रेडियोको कार्यालयमा । अहिले पनि रेडियो शारदाले श्रोताले पठाएका ती चिठी पत्र सुरक्षित राखेको छ ।

श्रोताले पठाएका पत्र धेरै हुँदा आलोपालो गरिन्थ्यो । तर पत्र यति धेरै हुन्थे कि सयौँ पत्र पालो नै नआएर थन्किएका थिए । चिठी भनेको आफ्ना विचारहरू अरूसमक्ष पुर्‍याउन कुनै व्यक्ति वा संस्थाले तयार परेको लिखित सन्देश हो । 

रेडियोमा प्राप्त भएका चिठीले लेखन सूचना, मनको भावना, सन्देश, समाचार आदि मार्फत सञ्चारमाध्यमको रूपमा काम गरेका थिए ।  चिठी सरल, स्पष्ट र प्रभावकारी हुनुपर्छ, जसले पठाउने व्यक्ति वा संस्थाको शिष्टता र हार्दिकतालाई सङ्केत गरेको हुन्छ । यिनै आधारभूमिवाट पत्र प्राप्त भएका थिए ।

सञ्चार क्षेत्रमा आएको परिवर्तनले गाउँ गाउँमा मोबाइल सेवा पुग्यो । त्यसपछि  बिस्तारै पत्र पठाउने क्रम कम हुँदै गयो । तर अहिले पनि रेडियोमा गीति कथा लेखेर पत्र आउने क्रम रोकिएको छैन ।

श्रोताको माया यत्तिसम्मकी कोसेली, रुपैयाँ राखिएका चिठी पत्र पनि आउँथे ।  कार्यक्रम सुनेर रेडियोमा हेर्न आउने र आवाज अनुसार भौतिक शरीर फरक पाएका अनुभूति सुन्न पाइन्थ्यो ।

श्रोताले रेडियो स्टेसनमै आएर आफ्नो, एफएममा कार्यरत सहकर्मीको बारेमा गरेको प्रशंसा, कार्यक्रममा प्रस्तोताको रूपमा चिन्दा र प्रत्यक्ष भेट्दाका बारेमा बताएका प्रतिक्रिया अत्यन्तै प्रिय र रोमाञ्चित थिएँ ।

सार्थक संवादले मानिसलाई प्रस्फुटित गर्न सघाउँछ । जीवनका भोगाई, सङ्घर्ष र सिकाइलाई पत्रका माध्यमवाट प्रस्तुत गर्दा अरूका लागि सिकाई र शिक्षा बन्दो रहेछ ।  मन भित्रका भावनालाई शक्ति र ऊर्जाका रूपमा रेडियो कार्यक्रमका माध्यमबाट पस्कँदा मनमा प्रसन्न भाव यसै बढ्दो रहेछ ।

रेडियोमा प्राप्त हुने पत्र केवल पत्र मात्र थिएनन् । गीति कथामा अभिव्यक्त जीवन भोगाई पढ्दै गर्दा आँसु आक्रोश शिक्षा आदि मिश्रित पत्रले जीवनदर्शन, वर्तमानका भोगाई र भविष्यका मार्गदर्शन गर्दथे । सामुदायिक रेडियोमा सञ्चालित कार्यक्रम गाउँघरमा रहेका लेखक, साहित्यकार, स्रष्टाको क्षमता प्रस्फुटन गराउने तथा सिर्जनमा हौस्याउने माध्यम पनि भएका थिए ।

भनिरहनै पर्दैन, रेडियो सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम हो । रेडियो विचार विनिमयको निकै सहज माध्यम बनिदियो । बिजुली बत्ती नपुगेका र सडक सञ्जालले नछोएका ठाउँलाई पनि रेडियो तरङ्गले छोयो अनि विश्वसँग जोड्यो ।

अति नै दुर्गम ठाउँका मानिसका कथा, गाथा, विचार र भोगाई र अनुभूति रेडियोले साटासाट गर्न थाल्यो । नयाँ र पुराना सर्जकका लागि रचना सार्वजनिक गर्ने सजिलो, सहज र उपयोगी माध्यम सामुदायिक रेडियो बनिरहेका छन् । ‘सामुदायिक रेडियो हाम्रा पाठशाला हुन्’ कोठा भरी रहेका चिठी पत्रले यसै भनिरहेका हुन्थे । 

सूचना प्रविधिमा आएको परिवर्तनले रेडियो पत्रकारितामा केही चुनौती थपिएको छ । तर रेडियोका श्रोता घटेका होइनन् । मलाई लाग्छ अझै पनि रेडियोलाई धेरैभन्दा धेरै अन्तरक्रिया गर्ने साझा माध्यमको रूपमा विकास गर्न सकिन्छ । किनकि रेडियोको मौलिक विशेषता अन्य माध्यममा पाउन सकिँदैन ।

पछिल्लो पटक जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पनि रेडियोहरूले आफूलाई प्रभावकारी सञ्चार माध्यमको रूपमा पुन एक पटक पुष्टि गरे । कोरोनाका कारण सरकारले गरेको बन्दाबन्दीका समयमा रेडियोको उपयोगिता धेरै देखियो र श्रोता रेडियोमै अडिएको पाइयो ।

आम मानिसका सरोकार, समस्या, चासो र रुचिका विषयवस्तु दिन सकेको खण्डमा रेडियो अझै पनि सान्दर्भिक र लोकप्रिय माध्यम हुन सक्दछ । सूचना प्रविधिमा भएको विकासले  सूचना विनियमको माध्यममा बदलाव ल्याएको छ ।

इन्टरनेटको माध्यमबाट गरिने सञ्चारले जनजीवनमा असर गरेको छ । मानिस आफ्ना आवश्यकता, भावना सिर्जना र सरोकार सजिलै सामाजिक सञ्जालमा अभिव्यक्त गरी सार्वजनिक बहस गर्न सक्दछ ।

तर रेडियोका मौलिक विशेषता छन् । र, म भन्न सक्छु रेडियो प्रभावकारी सूचना र भरपर्दो खबरको साथी हो । विनाशकारी भूकम्प, आपत् विपद्मा अरूभन्दा नजिकको साथी हो रेडियो । अरू कामसँगै सुन्न सकिने माध्यम रेडियो ।

यति भन्दै गर्दा मैले काम गरिरहेको रेडियो शारदामा पनि  विगतमा झैँ ह्वारह्वारती चिठ्ठी पत्र आउँदैनन् । ‘फोन इन’ कार्यक्रममा फोन पनि कमै आउन थालेका छन् ।

श्रोताका सामग्री अहिले फेसबुकका माध्यमबाट आउँछन् । विगतमा रेडियो पत्रकारिता सुरुवात गर्दा र अहिले धेरै परिवर्तन  भएको छ । रेडियो कर्ममा अवसर, चुनौती, जिम्मेवारी सबै बढेका छन् ।

लोकप्रिय सञ्चारमाध्यम रेडियोको प्रभाव कायम राख्न हामीले तयार पार्ने विषयवस्तुमा ध्यान दिनै पर्दछ । सही समयमा सही कार्यशैली अपनाउन नसके कुनै समय कथा सुनाउनुपर्ने दिन आउन सक्छ ।

रेडियो शारदाको स्टेसनको पत्र मञ्जूषामा रहेका स्रोताका पत्र हेर्दे आफैले आफैले प्रश्न सोध्छु के रेडियोलाई उपयोगी बनाएर श्रोता अड्याउन नसकिएला र ?

प्रतिकृया दिनुहोस

सल्यान अस्पतालका डाक्टरको लापरवाहीले छोरीको मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै प्रशासनमा निवेदन 

चैत २०,सल्यान  जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लिएकी ६ महिने छोरीको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै सल्यानकी शान्तीप्रभा पुरीले

सल्यानमा क्षयरोगीका बिरामी बढ्दै, ३ बर्षमा २६ जनाको मत्यु 

चैत ११, सल्यान  सल्यानमा पछिल्लो समयमा क्षयरोगीका बिरामी बढदै जान थालेका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा पछिल्लो समय

सल्यानमा आत्माहत्या रोथाम सम्बन्धी सचेतनामूलक विशेष अभियानको सुरुवात 

फाल्गुन २१, सल्यान सल्यानमा आत्माहत्या रोथाम सम्बन्धी सचेतनामुलक विशेष अभियान कार्यक्रको सुरुवता गरिएको । जिल्ला प्रहरी कार्यलय सल्यान र शारदा