• मंगलबार ४-२६-२०८३/Tuesday 08-11-2026

युवा मानवअधिकार रक्षकहरूको सवालमा सल्यानमा अन्तरक्रिया: सहकार्य र साझा प्रतिबद्धतामा जोड

 

 मानवअधिकारको प्रभावकारी प्रवर्द्धन र संरक्षणका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार, कानुनी क्षेत्र र युवाबीच बलियो सहकार्य तथा नियमित समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। उनीहरूले मानवअधिकार संरक्षणलाई औपचारिक कार्यक्रमभन्दा पनि निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

ग्रामीणमुखी युवा अभियान नेपालको आयोजना तथा युवा मानवअधिकार रक्षक सञ्जाल सल्यानको समन्वयमा आइतबार सल्यानमा आयोजित ‘युवा मानवअधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाबीच युवा मानवअधिकार रक्षकका सवालमा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, गैरसरकारी संस्था, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नागरिक समाज, मानवअधिकारकर्मी र युवा प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा मानवअधिकार रक्षकहरूको सुरक्षा, क्षमता विकास, दिगोपना, डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य तथा संस्थागत समन्वयलगायत विषयमा छलफल भएको थियो।

ग्रामीणमुखी युवा अभियान नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले ‘युवा मानवअधिकार रक्षकको प्रवर्द्धन र संरक्षणका लागि एक्यबद्धता’ विषयमा प्रस्तुतीकरण गर्दै अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा सल्यानको सन्दर्भमा मानवअधिकार रक्षकहरूको अवस्था, उनीहरूले भोगिरहेका चुनौती, सुरक्षा संयन्त्र, क्षमता अभिवृद्धि र सरोकारवाला निकायबीच सहकार्यको आवश्यकताबारे प्रकाश पारे।

उनले मानवअधिकारका सवाललाई समुदायको तहदेखि नीति निर्माणको तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। उनका अनुसार मानवअधिकार रक्षकलाई सुरक्षित र सक्षम बनाउन राज्यका निकाय, नागरिक समाज तथा अन्य सरोकारवालाबीच सहकार्यलाई संस्थागत गर्न आवश्यक छ।

अन्तरक्रियामा सहभागी युवाहरूले आफूहरूले पछिल्लो समय सामना गरिरहेका विभिन्न मानवअधिकारसम्बन्धी सवाललाई प्राथमिकताका साथ उठाएका थिए। डिजिटल सुरक्षा, मानसिक स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, आत्महत्या रोकथाम, बालविवाह, बलात्कार, खाद्य गुणस्तर, युवा नीति, सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, वैदेशिक रोजगारीमा हुने शोषण, लागूऔषध दुव्र्यसन तथा घरेलु हिंसालगायत विषयमा युवा मानवअधिकार रक्षकले सशक्त भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ थियो।

जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले राज्यका निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउन नागरिक समाज, सञ्चारमाध्यम तथा मानवअधिकार रक्षकहरूको भूमिका महत्वपूर्ण रहेको बताए। मानवअधिकारका सवाललाई नीति निर्माणको तहसम्म पुर्‍याएर प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न नियमित समन्वय, सहकार्य र साझा कार्ययोजना आवश्यक रहेको उनको भनाइ थियो।

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले युवा मानवअधिकार रक्षकहरू भविष्यका नेतृत्वकर्ता भएको उल्लेख गर्दै उनीहरूको क्षमता विकास र नीति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। युवाले गरिरहेका सकारात्मक अभ्यासलाई संस्थागत गर्दै उनीहरूलाई नेतृत्व विकासका अवसर प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ईश्वर रोकायले डिजिटल युगमा मानवअधिकारसम्बन्धी विषयलाई तथ्य, प्रमाण र जिम्मेवारीपूर्वक सार्वजनिक गर्न मानवअधिकार रक्षकहरूको भूमिका अझ महत्वपूर्ण बनेको बताए। सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोग गर्दा सूचना सत्यापन र जिम्मेवार अभिव्यक्तिमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका सहभागीहरूले मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि स्थानीय तहदेखि राष्ट्रिय तहसम्म नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार, कानुनी क्षेत्र र युवाबीच निरन्तर सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले। उनीहरूले मानवअधिकारसम्बन्धी सवाल पहिचान, पैरवी र समाधानका लागि साझा अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए।


कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेत, शारदा नगरपालिका–३ का वडाध्यक्ष तुलसा भण्डारी, शारदा नगरपालिका–४ का वडाध्यक्ष किशोरकुमार हमाल, सिद्धकुमाख गाउँपालिका–१ का वडाध्यक्ष रमेश चलाउने, छत्रेश्वरी गाउँपालिकाका कार्यपालिका सदस्य तुलसा विक, जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका प्रमुख जयबहादुर घर्ती, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष सीपी ओली, नेपाल पत्रकार महासंघ सल्यान शाखाका कोषाध्यक्ष खोकेन्द्र केसी तथा गैरसरकारी संस्था महासंघ सल्यानका प्रमुख रामचन्द्र रेग्मीलगायतले मानवअधिकार संरक्षण तथा प्रवर्द्धनका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको अध्यक्षता युवा मानवअधिकार रक्षक सञ्जाल सल्यानकी अध्यक्ष अस्मिता बस्नेतले गरेकी थिइन् भने सञ्चालन सञ्जालका सचिव प्रदीप घर्ती मगरले गरेका थिए।

प्रतिकृया दिनुहोस

भारतमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या

श्री जनज्योती माध्यामिक विद्यालयमा विपन्न विद्यार्थीका लागि तीन लाखको अक्षयकोष

राप्ती समाज यूके सिआइसीले सल्यानको दार्मा गाउँपालिका–३, फारुलाचौरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा गरिब, विपन्न तथा जेहेन्दार

टिमुर टिप्न नयाँ औजार, किसानको लागत र जोखिम घट्ने

काँडै–काँडाको टिमुर टिप्न अब किसानलाई सहज हुने भएको छ। वनस्पति अनुसन्धान केन्द्र सल्यानले टिमुर संकलनमा लाग्ने श्रम, समय र लागत घटाउने उद्देश्यले