• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

विदेशबाट फर्किएर व्यावसायिक कृषिमा खड्का

टेकवहादुर केसी ,समाचारदाता

१८ वर्ष विदेशमा मजदुरी गरेर फर्किनुभएका दार्मा गाउँपालिका–५ बछेला सल्यानका प्रेमबहादुर खड्का अहिले व्यावसायिक कृषिमा रमाउनुभएको छ। करिब सात वर्षदेखि तरकारी खेतीसँगै कुखुरा र माछापालन गर्दै आउनुभएका खड्काले कृषि व्यवसायबाट वार्षिक दुई लाखदेखि पाँच लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ।

दार्मा गाउँपालिका–५ र बागचौर नगरपालिका–४ को सीमाना बराहथाम क्षेत्रमा रहेको करिब १० रोपनी जमिनमा उहाँले अदुवा, बन्दागोभी, टमाटर, लसुन, खुर्सानी र आलुलगायतका तरकारी उत्पादन गर्दै आउनुभएको छ। लोकल तथा ब्रोइलर कुखुरा र माछापालनबाट समेत आम्दानी हुने गरेको उहाँले बताउनुभयो।

उत्पादन, मौसम र बजार मूल्यअनुसार आम्दानीमा उतारचढाव हुने गरेको उहाँले बताउनुभयो। कृषि व्यवसायबाट हुने आम्दानीले परिवारका १३ जना सदस्यको खर्च व्यवस्थापन हुँदै आएको खड्काले जानकारी दिनुभयो।

व्यावसायिक खेती सुरु गरेको पहिलो वर्ष २०७६ मा उहाँले करिब १५० क्विन्टल बन्दागोभी उत्पादन गर्नुभएको थियो। बजारको उचित व्यवस्था नहुँदा बुटवलसम्म बन्दागोभी पुर्‍याएर प्रतिकिलो पाँच रुपियाँमा बिक्री गर्नुपरेको उहाँले बताउनुभयो। उत्पादन बिक्रीबाट ढुवानी खर्चसमेत उठाउन कठिन भएको उहाँको अनुभव छ।

“सुरुमा बजारको व्यवस्था थिएन। बुटवलसम्म तरकारी लगेर पाँच रुपियाँ किलोमा बिक्री गर्नुपर्‍यो। कतिपय अवस्थामा भाडासमेत नउठ्ने अवस्था भयो,” खड्काले भन्नुभयो।

अहिले भने उहाँ आफैँ बजार खोजेर रुकुमको सोलाबाङ, खलङ्गा, झुल्नेटालगायतका बजार तथा दाङका विभिन्न स्थानमा तरकारी पठाउँदै आउनुभएको छ। आफ्नै पहलमा सवारीसाधनको व्यवस्था गरी उत्पादित तरकारी बजारसम्म पुर्‍याउने गरेको उहाँले बताउनुभयो। व्यवस्थित बजारको अभाव भने अझै मुख्य समस्या रहेको उहाँको गुनासो छ।

खड्काले १५ वर्ष भारत र तीन वर्ष खाडी मुलुकमा मजदुरी गर्नुभएको थियो। भारतमा जमिनदारको काम गर्नुभएका उहाँले खाडी मुलुकमा क्लिनरका रूपमा काम गर्नुभएको थियो। विदेशबाट फर्किएपछि अरूको ठाउँमा मजदुरी गर्नुभन्दा आफ्नै क्षेत्रमा केही गर्ने उद्देश्यले कृषि व्यवसाय रोजेको उहाँले बताउनुभयो।

“अर्काको ठाउँमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि कृषिलाई नै रोजेँ,” उहाँले भन्नुभयो।

तरकारी खेतीमा विभिन्न किसिमका रोग तथा किराको समस्या देखिने गरे पनि नियमित कृषि प्राविधिकको परामर्श पाउन नसकेको उहाँको गुनासो छ। रोग पहिचान, विषादीको उचित प्रयोग, टनेल निर्माण तथा आवश्यक कृषि सामग्रीमा सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।

“समय–समयमा प्राविधिक आएर खेतीमा लागेको रोग पहिचान गरिदिए र विषादी प्रयोगबारे जानकारी दिए सहज हुन्थ्यो। टनेल तथा आवश्यक सामग्रीमा सहयोग पाए उत्पादन बढाउन सकिन्थ्यो,” उहाँले भन्नुभयो।

कृषि फार्म दर्ता गरेपछि कृषि विकास कार्यालय सल्यानबाट सिँचाइ ट्याङ्की प्राप्त गरेको खड्काले बताउनुभयो। स्थानीय तह तथा कृषि क्षेत्रका अन्य सरोकारवाला निकायबाट भने थप सहयोग प्राप्त हुन नसकेको उहाँको गुनासो छ।

बजार व्यवस्थापन, प्राविधिक सेवा, टनेल तथा आवश्यक कृषि सामग्रीमा सहयोग पाए कृषि व्यवसाय थप विस्तार गर्न सकिने उहाँले बताउनुभयो। रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला खड्काले भने विदेशबाट फर्किएर स्थानीयस्तरमै कृषि व्यवसाय सञ्चालन गर्दै परिवारको जीविकोपार्जन गर्दै आउनुभएको छ।

प्रतिकृया दिनुहोस

One hundred kilometers of road to be blacktopped in five years

Rural roads connecting the district’s municipalities and wards are being blacktopped at a rapid pace. The district-based Infrastructure Development Office, the Dang Road Division, and the Urban Development Program have begun blacktopping rural roads in earnest. Over the past five years, 68 kilometers of road have been blacktopped by the Infrastructure Development Office, 22 kilometers

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा कल्याणकारी अपाङ सेवा संघलाई भाँडावर्तनका सामग्री सहयोग

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, सल्यान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कल्याणकारी अपाङ सेवा संघ, सल्यानलाई