• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

दार्मामा स्क्रब टाइफस संक्रमण बढेको भन्दै सांसद मल्लद्वारा सरकारको ध्यानाकर्षण

सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको संक्रमण बढ्दै गएको भन्दै प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले संक्रमण नियन्त्रणका लागि तत्काल परीक्षण किट, औषधी तथा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद मल्लले दार्मालगायत सल्यानका विभिन्न स्थानीय तहमा स्क्रब टाइफसका बिरामी बढिरहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा मात्रै ३३५ जनाको स्वास्थ्य परीक्षण गर्दा ११६ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये करिब ३५ प्रतिशतमा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

“संक्रमण फैलिँदै गएको छ, नागरिक जोखिममा छन् तर रोग पहिचानका लागि आवश्यक परीक्षण किटसमेत पर्याप्त छैन,” उहाँले भन्नुभयो, “स्थानीय तहले प्रदेश र सङ्घीय सरकारसँग परीक्षण किट तथा आवश्यक स्वास्थ्य सहयोग माग गरेको महिना दिन बितिसक्दा पनि पर्याप्त सहयोग पाएका छैनन् ।”

सांसद मल्लले दार्मा, कुमाख, बागचौरलगायत जोखिमयुक्त क्षेत्रमा घरदैलो स्वास्थ्य परीक्षण तथा जनचेतना अभियान सञ्चालन गर्न माग गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी संक्रमण नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैबीच, दार्मामा संक्रमण बढेपछि परीक्षण तथा उपचारका लागि जिल्ला अस्पताल सल्यानका चिकित्सकको टोली आवश्यक औषधी तथा परीक्षण सामग्रीसहित गाउँपालिका पुगेको छ । जिल्ला अस्पताल सल्यानका डा. बालाराम केसीको नेतृत्वमा पुगेको टोलीले विभिन्न स्थानमा स्क्रब टाइफस परीक्षण तथा बिरामीको स्वास्थ्य परीक्षण गरिरहेको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त प्रमुख डा. प्रतिभा विकका अनुसार चिकित्सकको टोलीले दार्माका दुई स्थानमा परीक्षण गर्नेछ । परीक्षणसँगै बिरामीको स्वास्थ्य अवस्था हेरी आवश्यक उपचार तथा परामर्शसमेत दिइनेछ ।

जनस्वास्थ्य अधिकृत तारा रिजालका अनुसार चिकित्सकको टोलीले स्क्रब टाइफसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे स्थानीयवासीलाई जानकारी गराउनेछ । घाँसपात तथा झाडीमा काम गर्दा सावधानी अपनाउने, लामो समयसम्म ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउने र स्वास्थ्यकर्मीको सल्लाहबिना औषधी सेवन नगर्नेलगायत विषयमा जनचेतना फैलाइनेछ ।

दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार संक्रमणका कारण हालसम्म सात जनाको मृत्यु भएको छ । मृतकमध्ये दार्मा–६ का ८२ वर्षीय बलबहादुर थापा, वडा नं. ५ का ६९ वर्षीय तुलबहादुर खड्का, वडा नं. ६ का ६७ वर्षीय नरबहादुर बुढाथोकी, वडा नं. ९ का ५१ वर्षीय खिमानन्द केसी, वडा नं. २ का १२ वर्षीय नरेश ओली तथा वडा नं. १ का ६७ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकाय रहेका छन् ।

पछिल्लोपटक दार्मा–१ का तोताराम सुनार र नरेन्द्र रोकायको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । दुवै जना दीर्घरोगी रहेको बताइएको छ ।

दार्मा गाउँपालिकाले संक्रमण बढेपछि विभिन्न चार स्थानबाट परीक्षण सुरु गरेको छ । स्वास्थ्य शाखाका अनुसार पालिकाका अधिकांश बस्तीमा ज्वरोका बिरामी बढेका छन् । परीक्षण गरिएकामध्ये दैनिक दुईदेखि पाँच जनासम्ममा स्क्रब टाइफस पुष्टि हुँदै आएको छ । अहिलेसम्म एक सयभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ ।

“८ भदौमै संक्रमणबारे जानकारी गराएका थियौँ तर परीक्षण किटको अभाव हुँदा समस्या भयो,” स्वास्थ्य शाखा प्रमुख बस्नेतले भन्नुभयो, “अहिले चार ठाउँबाट परीक्षण भइरहेको छ ।”

संक्रमण बढ्दै गए पनि स्वास्थ्य संस्थामा परीक्षण किटको अभाव देखिएको छ । किट अभाव भएपछि कतिपय बिरामी परीक्षण तथा उपचारका लागि रुकुमको झुल्नेटा, फारुला तथा सल्यानका अन्य बजारसम्म पुग्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

दार्मा–१ स्थित भल्चौर स्वास्थ्य संस्थामा पनि बिरामीको चाप बढेको छ । सामान्य अवस्थामा दैनिक १५ देखि २० जना बिरामी आउने गरेकामा अहिले ३० जनासम्म पुग्ने गरेको स्वास्थ्यकर्मी टेकराज बोहराले बताउनुभयो ।

स्वास्थ्य शाखाका अनुसार ज्वरो आएपछि स्वास्थ्य संस्थामा परीक्षण नगराई निजी मेडिकलबाट औषधी सेवन गर्ने प्रवृत्तिले समस्या थपिएको छ । रोग पहिचान नगरी औषधी सेवन गर्दा विशेषगरी दीर्घरोगी बढी जोखिममा परेको स्वास्थ्यकर्मीको भनाइ छ ।

“रोग पहिचान नगरी औषधी सेवन गर्ने प्रवृत्ति छ । मेडिकल सञ्चालकलाई समेत परीक्षण गरेर मात्र औषधी दिन सचेत गराउँदै आएका छौँ,” स्वास्थ्य शाखा प्रमुख बस्नेतले भन्नुभयो ।

दार्मा–१ का कृष्ण खड्गाले भौगोलिक विकटताका कारण स्वास्थ्य संस्था सहज पहुँचमा नभएकाले उपचारका लागि रुकुमको झुल्नेटा बजार पुग्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

स्वास्थ्य शाखाका अनुसार गत वर्षसमेत दार्मामा स्क्रब टाइफसका कारण चार जनाको मृत्यु भएको थियो । स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा घरघरमै पुगेर परीक्षण तथा उपचार गरेपछि संक्रमण नियन्त्रणमा ल्याइएको थियो ।

संक्रमण बढेपछि परीक्षण किट, औषधी तथा स्वास्थ्य सामग्रीको थप व्यवस्थाका लागि प्रदेश र सङ्घीय सरकारसँग आग्रह गरिएको स्वास्थ्य शाखाले जनाएको छ । दार्मालगायत जिल्लाका अन्य जोखिमयुक्त क्षेत्रमा समेत परीक्षणको दायरा बढाउनुपर्ने स्थानीय स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

क्यान्सरबाट जोगाउन किशोरीलाई एचपीभी खोप

सल्यानमा दुई सयभन्दा बढी खोप केन्द्रबाट किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी ९ह्युमन प्यापिलोमा भाइरस० खोप लगाउन सुरु गरिएको छ। यस

बनगाड कुपिण्डे नगरपालिकाको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी सम्पन्न

सल्यान — बनगाड कुपिण्डे नगरपालिकामा आर्थिक, सामाजिक, सांस्कृतिक तथा देश विकासलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित जनस्वास्थ्य

जिल्ला अस्पताल सल्यानमा सल्यक्रिया सेवा पुनः सुरु

 विशेषज्ञ चिकित्सकको अभावका कारण गत असार २७ देखि ठप्प रहेको जिल्ला अस्पताल सल्यानको सल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा स्त्री तथा