• आइतबार ७-२३-२०८३/Sunday 11-08-2026

कर्णाली सरकारका सय दिनका उपलब्धि सार्वजनिक, पुँजीगत खर्च ३.९३ प्रतिशत मात्रै

कर्णाली प्रदेश सरकारले आफ्नो सय दिनको अवधिमा विभिन्न क्षेत्रमा काम गरेको विवरण सार्वजनिक गरे पनि विकास बजेट कार्यान्वयनको अवस्था भने निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म प्रदेश सरकारको पुँजीगत बजेट खर्च तीन दशमलव ९३ प्रतिशतमा सीमित भएको छ ।

मुख्यमन्त्री मंगलबहादुर शाहीले आइतबार आफ्नो नेतृत्वको सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्दै कानुन निर्माण, प्रशासनिक सुधार, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनका क्षेत्रमा भएका कामको विवरण प्रस्तुत गर्नुभएको हो ।

सरकारले सय दिनको अवधिमा चारवटा नयाँ विधेयक र दलित समुदायको सशक्तीकरण तथा जीवनस्तर प्रवर्द्धनसम्बन्धी पहिलो संशोधन विधेयक गरी पाँचवटा विधेयक प्रदेशसभामा पेस गर्न मन्त्रिपरिषद्बाट स्वीकृति दिएको जनाएको छ । योगदानमा आधारित निवृत्तिभरण कोष, सामयिक राजस्व सङ्कलन, खानेपानी तथा सरसफाइ र स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक अघि बढाइएको छ ।

यसैगरी विपद् जोखिम न्यूनीकरण, प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण, लोककल्याणकारी विज्ञापन वितरण, घर बिमा तथा कृषि र सहकारी कार्यक्रम सञ्चालनसम्बन्धी छवटा कार्यविधि स्वीकृत गरिएको छ । कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण र प्रदेश आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी दुईवटा निर्देशिका पनि स्वीकृत भएका छन् ।

शासकीय सुधारतर्फ विभिन्न तालिम केन्द्रलाई एकीकृत गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गरिएको सरकारले जनाएको छ । मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव र कार्यालय प्रमुखबीच कार्यसम्पादन सम्झौता गरिएको छ । सरकारी कामकाजलाई प्रविधिमैत्री बनाउन एकीकृत सरकारी कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गरिएको छ ।

यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकद्वार सेवा सुरु गरी सवारी दर्ता, नवीकरण र राजस्व भुक्तानीलाई अनलाइन प्रणालीमा आबद्ध गरिएको छ । स्थानीय सेवाका कर्मचारीको पदपूर्ति, बढुवा र पदस्थापन प्रक्रिया पनि अघि बढाइएको छ ।

पूर्वाधार विकासतर्फ दुईवटा पक्की सडक पुल र १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् । जाजरकोटको बारेकोट गाउँपालिकास्थित सेपुखोला र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकास्थित ताल्चा खोलामा सडक पुल निर्माण गरिएको हो । विभिन्न प्रहरी भवन निर्माणका लागि सात करोड छ लाख ५० हजार रुपियाँ निकासा गरिएको छ ।

रुकुम पश्चिमको शीतलपोखरी–झुल्खेत–चुनबाङ सडकको १८.४१७ किलोमिटर खण्ड निर्माण सुरु भएको छ । सुर्खेत रिङरोड, जुम्लाको खलङ्गा–लासी, हुम्लाको सलीसल्ला–पिप्लाङ र जाजरकोटको वाडाबन–सानाखोला सडक स्तरोन्नतिका लागि विश्व बैङ्कबाट कार्यसहमति प्राप्त भएको सरकारले जनाएको छ ।

जाजरकोट भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत तीनवटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन् भने प्रदेशको एकीकृत प्रशासनिक भवन निर्माण पनि सुरु भएको छ ।

विपद् व्यवस्थापनतर्फ रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा दुई करोड रुपियाँ उपलब्ध गराइएको छ । कर्णालीका १० जिल्लामा शव ढुवानी तथा किरिया खर्चका लागि प्रतिजिल्ला १५ लाख र राहत तथा उद्धार सामग्री खरिदका लागि २० लाख रुपियाँ पठाइएको छ । वन्यजन्तुबाट क्षति व्यहोरेका ५८ जनालाई १३ लाख ५८ हजार रुपियाँ राहत वितरण गरिएको छ ।

शिक्षा, स्वास्थ्य र खेलकुदतर्फ दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ गते उद्घाटन गर्ने मिति तय गरिएको छ । सुर्खेत रङ्गशालाको निर्माण सम्पन्न भई हस्तान्तरण प्रक्रिया अघि बढेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका १४६ जना खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ ।

दैलेखमा पाँच शय्याको डायलासिस सेवा सञ्चालन गर्न अनुमति दिइएको छ । सल्यानको दार्मामा फैलिएको स्क्रब टाइफस नियन्त्रणका लागि परीक्षण किट, औषधि र चिकित्सक परिचालन गरिएको सरकारले जनाएको छ ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार असोज मसान्तसम्म चालु खर्च १२.२४ प्रतिशत र पुँजीगत खर्च ३.९३ प्रतिशत भएको छ । समग्र बजेट खर्च भने ७.२० प्रतिशत रहेको छ । यसै अवधिमा असोज २० गतेसम्म २४ करोड २७ लाख ७४ हजार ९२ रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यस अवधिमा छवटा प्रारम्भिक वातावरणीय परीक्षण, दुईवटा कार्यक्षेत्रगत सर्त र एउटा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत स्वीकृत गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस सल्यानको देउवा पक्षको सभापतिमा चन्द सर्वसम्मत

नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनबाट दीपकजंग चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन हुनुभएको छ ।नेपाली कांग्रेसको देउवा पक्षले सल्यानको

नेपाली कम्युनिस्ट पार्टी दार्माको समीक्षात्मक बैठक सम्पन्न

नेपाली कम्युनिस्ट पार्टी दार्मा गाउँ कमिटीको आयोजनामा फारुलाचौरमा समीक्षात्मक बैठक सम्पन्न भएको छ ।दार्मा गाउँपालिका अध्यक्ष दुर्गा मल्लको

रास्वपाको दार्मामा पालिका कार्यालय उद्घाटन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्मा गाउँपालिकाले फारुलाचौरमा पार्टीको पालिका कार्यालय उद्घाटन गरेको छ। पार्टीका प्रतिनिधिसभा सदस्य रमेश

↑