• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

दार्मामा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा

सल्यानको दार्मा गाउँपालिकाले पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास/WASH) इकाइको समन्वय तथा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाको सहजीकरणमा आइतबार थप तीन वटा टोल विकास संस्थालाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो।

पूर्ण सरसफाइसम्बन्धी निर्धारित ६ वटा सूचक तथा सबै उपसूचक पूरा गरेपछि ती टोललाई प्रमाणपत्रसहित सम्मान गर्दै पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको हो। यससँगै गाउँपालिकामा पूर्ण सरसफाइ उन्मुख घोषणा भएका टोलको संख्या २७ पुगेको छ। गाउँपालिकाभित्र ८४ वटा टोल रहेकामा चालु आर्थिक वर्षभित्र थप ११ वटा टोललाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाले २०८४ सालभित्र सम्पूर्ण दार्मालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने तयारी गरेको जनाएको छ।

दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले पूर्ण सरसफाइ उन्मुख पालिका निर्माणका लागि आगामी आर्थिक वर्षमा संघीय सरकारले रु. १ करोड ५० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उहाँले पूर्वाधार निर्माणसँगै समुदायको सक्रिय परिचालन, जनचेतना अभिवृद्धि र व्यवहार परिवर्तनलाई अभियानको मुख्य आधार बनाइएको बताउनुभयो।

“पूर्ण सरसफाइ भवन वा शौचालय निर्माणले मात्र सम्भव हुँदैन,” उहाँले भन्नुभयो, “समुदाय स्वयं अभियानको नेतृत्वमा उत्रिएर सरसफाइलाई दैनिक जीवनशैलीका रूपमा अपनाउन सके मात्र यसको दिगोपना सुनिश्चित हुन्छ। यही लक्ष्यका साथ सबै सरोकारवालासँग सहकार्य गर्दै २०८४ भित्र दार्मालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने लक्ष्य लिएका छौं।”

वास सहजकर्ता पुष्पा केसीका अनुसार टोलस्तरमा पूर्ण सरसफाइका सबै सूचक तथा उपसूचक पूरा भएपछि पालिका तथा वडा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट प्रमाणीकरण र सिफारिस गरिएपछि मात्र पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिन्छ।

सुस्वा आयोजनाको साझेदारीमा दार्मा गाउँपालिकासहित कर्णाली प्रदेशका २८ वटा स्थानीय तहमा पूर्ण सरसफाइ, सुरक्षित खानेपानी तथा स्वच्छतासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असरवीर बुढाथोकीले पूर्ण सरसफाइ र पोषण स्वस्थ समाज निर्माणका आधारभूत आधार भएको बताउनुभयो। उहाँले स्थानीय तह, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई निरन्तरता दिएमा दार्माले निर्धारित समयमै पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणाको लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

पूर्ण सरसफाइ उन्मुख घोषणा कार्यक्रममा सहभागी टोल विकास संस्थाका प्रतिनिधिले अभियानलाई व्यवहार परिवर्तनसँग जोड्नुपर्नेमा जोड दिएका थिए। दार्मा गाउँपालिका–४ डाँडागाउँ टोल विकास संस्थाका अध्यक्ष भद्रबहादुर पाण्डेले घरघरमा फोहोरको उचित व्यवस्थापन र स्रोतबाटै फोहोर वर्गीकरण गर्ने अभ्यास विकास गर्नुपर्ने बताउनुभयो।

दार्मा गाउँपालिका–३ खलटाकुरी बास्ठाना टोल विकास संस्थाका अध्यक्ष जयराम जैसीले पूर्ण सरसफाइ प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा मात्र सीमित नरही नागरिकको आनीबानी र जीवनशैली परिवर्तनसँग जोडिनुपर्ने धारणा राख्नुभयो। दार्मा गाउँपालिका–१ सिमलपुर टोल विकास संस्थाका अध्यक्ष हिरालाल जैसीले सरसफाइ अभियानलाई दिगो बनाउन टोल विकास संस्था, विद्यालय, आमा समूह र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो।

यसै अवसरमा गाउँपालिका स्तरीय पोषण मेला पनि आयोजना गरिएको थियो। मेलामा स्थानीय उत्पादनमा आधारित पौष्टिक खाद्य परिकारको प्रदर्शनी, सन्तुलित आहार, बाल तथा मातृ पोषण, सुरक्षित खानेपानी तथा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। आयोजकका अनुसार मेलाले स्थानीय नागरिकमा पोषण, स्वस्थ जीवनशैली र सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला समूह, आमा समूह, सञ्चारकर्मी तथा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

काल्चे स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी पारस्परिक अवलोकन सम्पन्न

स्वास्थ्य सेवा कार्यालय सल्यानले स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड (एचपी–एमएसएस) सम्बन्धी समीक्षा, अनुगमन, पारस्परिक अवलोकन तथा सुदृढीकरण

अन्तर्राष्ट्रिय योग दिवस : ‘योग भन्नेभन्दा गर्ने कुरा हो’

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सल्यानमा आयोजित कार्यक्रममा वक्ताहरूले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा अपनाउनुपर्नेमा जोड दिएका

दार्मा गाउँपालिकामा खानेपानी आयोजनाको तेस्रो सामाजिक परीक्षण सम्पन्न

सल्यान,  दार्मा गाउँपालिका–५ मा सञ्चालित ब्रहाखोला स्यालदुले पातीहाल्न साङ्ट खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाको तेस्रो सामाजिक परीक्षण तथा