काल्चे स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी पारस्परिक अवलोकन सम्पन्न
स्वास्थ्य सेवा कार्यालय सल्यानले स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड (एचपी–एमएसएस) सम्बन्धी समीक्षा, अनुगमन, पारस्परिक अवलोकन तथा सुदृढीकरण कार्यक्रमअन्तर्गत कालिमाटी गाउँपालिका–५ स्थित काल्चे स्वास्थ्य चौकीमा पारस्परिक अवलोकन कार्यक्रम सम्पन्न गरेको छ।
जिल्लाभित्रका स्वास्थ्य संस्थाबीच असल अभ्यासको आदानप्रदान, सिकाइ विस्तार तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधि, स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।
स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिमाटी गाउँपालिकाकी उपाध्यक्ष सहनशीलता वली (डी.सी.) प्रमुख अतिथि रहनुभएको थियो। कालिमाटी गाउँपालिका–५ का वडाध्यक्ष तथा काल्चे स्वास्थ्य चौकी व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष टोपबहादुर कार्की विशिष्ट अतिथि रहनुभएको थियो।
यस्तै, स्वास्थ्य सेवा कार्यालय सल्यानकी सिनियर अनमी थुमा बुढाथोकी, कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापा, शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमाललगायत जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाका उपप्रमुख, स्वास्थ्य चौकी इन्चार्ज तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा काल्चे स्वास्थ्य चौकी प्रमुख रिता कँवरले स्वास्थ्य चौकीले स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्डअन्तर्गत करिब ९० प्रतिशत उपलब्धि हासिल गरेको जानकारी दिनुभयो। उक्त उपलब्धि कायम राख्दै सेवाको गुणस्तरलाई थप प्रभावकारी र दिगो बनाउनु आगामी चुनौती रहेको उहाँको भनाइ थियो। उहाँले स्वास्थ्य चौकीको यो उपलब्धिमा स्वास्थ्यकर्मी, स्वास्थ्य चौकी व्यवस्थापन तथा सञ्चालन समिति, स्थानीय जनप्रतिनिधि र समुदायको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा जनस्वास्थ्य अधिकृत रिजालले स्वास्थ्य संस्थाबीच गरिने पारस्परिक अवलोकनले अनुभव आदानप्रदान, असल अभ्यासको विस्तार तथा सेवाको गुणस्तर सुधारमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो। जिल्लाभित्र भएका सफल अभ्यासलाई अन्य स्थानीय तहले समेत अनुसरण गर्न सक्ने वातावरण सिर्जना भएकाले यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो।
प्रमुख अतिथि सहनशीलता वली (डी.सी.)ले स्थानीय सरकार गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको बताउँदै न्यूनतम सेवा मापदण्डको प्रभावकारी कार्यान्वयनबाट नागरिकले सहज, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि टोपबहादुर कार्कीले स्वास्थ्य चौकीको सुधारमा स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य शाखा प्रमुख गोरख थापाले न्यूनतम सेवा मापदण्डको पूर्ण कार्यान्वयनले स्वास्थ्य संस्थाको सेवा व्यवस्थापन थप प्रभावकारी हुने धारणा राख्नुभयो।
सहभागीहरूको तर्फबाट कपुरकोट गाउँपालिकाका जनस्वास्थ्य अधिकृत टीकाराम न्यौपानेले काल्चे स्वास्थ्य चौकीले एचपी–एमएसएसका अधिकांश सूचक पूरा गर्दै जिल्लाकै उत्कृष्ट स्वास्थ्य संस्थामध्ये एकका रूपमा पहिचान बनाएको बताउनुभयो। अवलोकन भ्रमणबाट स्वास्थ्य सेवा व्यवस्थापन, अभिलेख व्यवस्थापन, सेवा प्रवाह तथा संस्थागत व्यवस्थापनका असल अभ्यासबारे महत्वपूर्ण सिकाइ प्राप्त भएको उल्लेख गर्दै उहाँले प्राप्त सुझावलाई कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालय सल्यानका कोल्ड चेन सहायक गोविन्द चलाउनेले गर्नुभएको थियो।
दार्मामा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा
सल्यानको दार्मा गाउँपालिकाले पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता
अन्तर्राष्ट्रिय योग दिवस : ‘योग भन्नेभन्दा गर्ने कुरा हो’
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सल्यानमा आयोजित कार्यक्रममा वक्ताहरूले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा अपनाउनुपर्नेमा जोड दिएका
दार्मा गाउँपालिकामा खानेपानी आयोजनाको तेस्रो सामाजिक परीक्षण सम्पन्न
सल्यान, दार्मा गाउँपालिका–५ मा सञ्चालित ब्रहाखोला स्यालदुले पातीहाल्न साङ्ट खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाको तेस्रो सामाजिक परीक्षण तथा
प्रतिकृया दिनुहोस