• मंगलबार ४-२६-२०८३/Tuesday 08-11-2026

श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा विद्यार्थी निर्वाचन, भानुभक्त र सुनिभा निर्वाचित

सल्यानको शारदा नगरपालिका–२, लुहापिङस्थित श्री त्रिभुवन जन माध्यमिक विद्यालयमा विद्यार्थी प्रतिनिधि तथा सदन निर्वाचन–२०८३ सम्पन्न भएको छ।सामाजिक विषयअन्तर्गतको प्रयोगात्मक सिकाइलाई व्यवहारसँग जोड्ने उद्देश्यले आयोजित निर्वाचनमा उम्मेदवारी दर्ता, चुनावी प्रचारप्रसार, मतदान, मतगणना र परिणाम घोषणासम्मका सम्पूर्ण प्रक्रिया विद्यार्थीहरूले आफैं सञ्चालन गरेका थिए। हेड ब्वाय, हेड गर्ल, हाउस क्याप्टेन तथा उपक्याप्टेन पदका लागि सम्पन्न निर्वाचनमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी तथा स्वयंसेवकको भूमिका समेत विद्यार्थीहरूले नै निर्वाह गरेका थिए भने शिक्षकहरू सहजीकरणमा मात्र सीमित रहेका थिए।

मुख्य निर्वाचन अधिकृत टोपबहादुर गिरीका अनुसार विद्यालयका २७१ विद्यार्थीमध्ये २३५ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये २३२ मत सदर र तीन मत बदर भएको उहाँले जानकारी दिनुभयो।

निर्वाचन परिणामअनुसार हेड ब्वायमा भानुभक्त खड्का १३६ मतसहित निर्वाचित हुनुभयो। उहाँका निकटतम प्रतिस्पर्धी गणेश ओलीले ६६ मत प्राप्त गर्नुभयो। हेड गर्लमा सुनिभा उपाध्याय ९८ मतसहित निर्वाचित हुनुभयो भने उहाँकी प्रतिस्पर्धी डुनिका बस्नेतले ७२ मत प्राप्त गर्नुभयो।

यसैगरी, रेड हाउसको क्याप्टेनमा आयुश राजगुरु र उपक्याप्टेनमा अमृता विक, ब्लु हाउसको क्याप्टेनमा मेघराज परियार र उपक्याप्टेनमा सिम्रन तिरुवा, येल्लो हाउसको क्याप्टेनमा यशवन के.सी. र उपक्याप्टेनमा अनुज्ञा शाह तथा ग्रिन हाउसको क्याप्टेनमा सुदर्शन भण्डारी र उपक्याप्टेनमा रुस्मा सिंह निर्वाचित हुनुभएको विद्यालयले जनाएको छ।

प्रधानाध्यापक माधव विक्रम जी.सी.ले सामाजिक विषयअन्तर्गतको प्रयोगात्मक सिकाइलाई प्रभावकारी बनाउन विद्यार्थी निर्वाचन आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार यस्ता अभ्यासले विद्यार्थीमा लोकतान्त्रिक मूल्य–मान्यता, नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा सहभागितामूलक संस्कारको विकास गर्न महत्वपूर्ण सहयोग पुग्नेछ।

निर्वाचन प्रक्रियाको अनुगमन प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, जिल्ला प्रहरी प्रमुख दीपक पातली, जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारी, शारदा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बवाल तथा शारदा नगरपालिका–२ का वडा अध्यक्ष सविन हमाललगायतले गर्नुभएको थियो।

निर्वाचनका लागि आवश्यक मतदान सामग्री तथा प्राविधिक सहयोग जिल्ला निर्वाचन कार्यालय, सल्यानले उपलब्ध गराएको विद्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

भारतमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले भारतमा रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायमा रहेका नेपाली नागरिकले भोगिरहेका समस्या

युवा मानवअधिकार रक्षकहरूको सवालमा सल्यानमा अन्तरक्रिया: सहकार्य र साझा प्रतिबद्धतामा जोड

   मानवअधिकारको प्रभावकारी प्रवर्द्धन र संरक्षणका लागि नागरिक समाज, सञ्चारमाध्यम, स्थानीय सरकार, कानुनी क्षेत्र र युवाबीच बलियो सहकार्य तथा

श्री जनज्योती माध्यामिक विद्यालयमा विपन्न विद्यार्थीका लागि तीन लाखको अक्षयकोष

राप्ती समाज यूके सिआइसीले सल्यानको दार्मा गाउँपालिका–३, फारुलाचौरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा गरिब, विपन्न तथा जेहेन्दार