प्राकृतिक विपद्, हाम्रो जिम्मेवारी
प्रतीक इच्छुक शर्मा
आज बिहान तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा अचानक आएको ठूलो बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रका बस्ती, बजार, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा फैलिएपछि नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीबाट मानवीय क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। उद्धार तथा क्षतिको विवरण संकलन कार्य जारी छ। मानवीय क्षति र बेपत्ताको विवरण संकलन तथा उद्धार जारी रहेकाले क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ।
यस घटनाले नेपालमा विपद् व्यवस्थापनको बहसलाई फेरि सतहमा ल्याएको छ। सीमापार हिमाली क्षेत्रमा हुने असामान्य वर्षा, हिमताल वा हिमनदीमा आउने परिवर्तन, पहिरो वा नदीको बहावमा अचानक हुने वृद्धिले नेपालका तल्लो तटीय क्षेत्रमा समेत विनाशकारी प्रभाव पार्न सक्छ भन्ने तथ्य यस घटनाले देखाएको छ।
बाढी आफैँमा प्राकृतिक जलचक्रकै एउटा प्रक्रिया हो। नदीमा पानीको बहाव बढ्नु, नदी आफ्नो प्राकृतिक क्षेत्रतर्फ फैलिनु वा हिमाली क्षेत्रमा पानीको मात्रा अचानक बढ्नु प्रकृतिका प्रक्रिया हुन्। तर त्यही प्राकृतिक घटना कसरी ठूलो मानवीय क्षतिको कारण बन्छ? किन सडक, पुल, घर, बजार र बस्ती क्षतविक्षत हुन्छन्? किन एउटै नदी किनारमा पटक–पटक क्षति दोहोरिन्छ?
यही प्रश्नले विपद्लाई केवल प्रकृतिको प्रहारका रूपमा हेर्ने पुरानो दृष्टिकोणलाई चुनौती दिन्छ। नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो। हिमालदेखि तराईसम्मको भौगोलिक विविधता, कमजोर भूगर्भ, भूकम्पीय सक्रियता, मनसुनी वर्षा तथा जलवायु परिवर्तनका प्रभावले नेपाललाई बाढी, पहिरो, डुबान, हिमपहिरो, हिमताल विस्फोट, भूकम्प, चट्याङ र खडेरीजस्ता बहुविपद्को जोखिममा राखेको छ।
प्राकृतिक घटना रोक्न मानिसको सामर्थ्य सीमित छ। तर प्राकृतिक जोखिमलाई विपत्तिमा परिणत हुन नदिने तयारी, सुरक्षित भू–उपयोग, दिगो पूर्वाधार, पूर्वचेतावनी र योजनाबद्ध बस्ती विकास भने मानिसकै जिम्मेवारी हो।
नदीको प्राकृतिक बहाव क्षेत्र साँघुरो पार्ने, बगर तथा नदी उकासमा बस्ती बसाउने, खोलाको जलनिकास पुरिने, पहाडको प्राकृतिक ढलान काटेर सडक बनाउने र जोखिमयुक्त भूभागमा संरचना निर्माण गर्ने प्रवृत्तिले प्राकृतिक जोखिमलाई झन् ठूलो मानवीय संकटमा बदलिरहेको छ।
त्यसैले अहिलेको प्रश्न केवल ‘बाढी कहाँबाट आयो?’ भन्ने होइन। प्रश्न यो पनि हो—बाढी आउँछ भन्ने थाहा हुँदाहुँदै हामीले जोखिमयुक्त क्षेत्रमा किन बस्ती र संरचना निर्माण गर्यौँ?
विपद् के हो, कसरी हुन्छ?
विपद् भन्नाले कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनुका साथै मानिसको जीवनयापन, सामाजिक संरचना र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक घटनालाई बुझिन्छ। नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले भूकम्प, बाढी, पहिरो, डुबान, अतिवृष्टि, अनावृष्टि, हिमपहिरो, हिमताल विस्फोट, चट्याङ र खडेरीजस्ता घटनालाई प्राकृतिक विपद्का रूपमा समेटेको छ।
तर प्राकृतिक घटना र प्राकृतिक विपद् एउटै कुरा होइनन्। नदीमा पानीको बहाव बढ्नु प्राकृतिक घटना हो। तर नदीको प्राकृतिक फैलावट क्षेत्र अतिक्रमण गरी बस्ती, बजार, सडक वा अन्य संरचना निर्माण गरिएको छ भने त्यही बहाव ठूलो विपद् बन्न सक्छ।
पहाडमा पहिरो जानु प्राकृतिक भू–प्रक्रिया हुन सक्छ। तर भूगर्भीय तथा वातावरणीय अध्ययनबिना पहाडको प्राकृतिक ढलान काटेर सडक निर्माण गर्दा पहिरोको जोखिम र क्षति दुवै बढ्न सक्छ।त्यसैले विपद्लाई प्राकृतिक खतरा मात्र भनेर बुझ्नु अपूर्ण हुन्छ। प्राकृतिक खतरा, त्यसको सम्पर्कमा रहेका मानिस तथा सम्पत्ति, संरचनाको कमजोरी र पूर्वतयारीको अभावबीचको अन्तरसम्बन्धले विपत्तिको आकार निर्धारण गर्छ।
बाढी : प्रकृतिको बहाव कि हाम्रो जोखिम?
रसुवा, भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा देखिएको पछिल्लो क्षतिले एउटा महत्वपूर्ण विषय उजागर गरेको छ—हिमाली नदी प्रणालीको जोखिमलाई स्थानीय तहको सीमाभित्र मात्र हेरेर पुग्दैन। भोटेकोशीमा तिब्बततर्फबाट अचानक ठूलो पानीको बहाव प्रवेश गरेपछि रसुवाका टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा ठूलो क्षति पुगेको छ। त्यसपछि बाढी त्रिशूलीतर्फ समेत बढेको भन्दै तल्लो तटीय क्षेत्रलाई सतर्क गराइएको छ। बाढीको ठ्याक्कै कारणबारे अध्ययन भइरहे पनि घटनाले सीमापार हिमाली जोखिमको गम्भीरता स्पष्ट गरेको छ।
नदीको बहावलाई केवल सामान्य अवस्थामा बग्ने पानीका रूपमा बुझ्नु हुँदैन। बाढीका बेला नदीले आफ्नो पुरानो धार, बगर, नदी उकास तथा प्राकृतिक फैलावट क्षेत्रसमेत प्रयोग गर्न सक्छ। हामीले नदीको बहाव क्षेत्र साँघुरो पारेर स्थायी संरचना निर्माण गरेका छौँ भने असामान्य बहावका बेला क्षतिको सम्भावना बढ्छ।त्यसैले बाढी आएपछि नदीलाई दोष दिनुभन्दा पहिले नदीको प्राकृतिक क्षेत्रमाथि हाम्रो हस्तक्षेप कति छ भन्ने प्रश्न गर्नुपर्छ।
नेपालको विपद्को इतिहास : क्षति दोहोरिन्छ, पाठ हराउँछ
नेपालले पटक–पटक ठूला बाढी, पहिरो, भूकम्प तथा अन्य विपद्को सामना गर्दै आएको छ। पछिल्नो केही वर्षको विगतलाई केलाउँदा वि.सं. २०५० को बाढी–पहिरो, २०६५ को कोशी बाढी, २०७१ को जुरे पहिरो, २०७२ को गोरखा भूकम्प, २०७४ को तराई बाढी, २०७८ को मेलम्ची बाढी र २०८० को जाजरकोट भूकम्प नेपालका स्मरणीय विपद् घटना हुन्।यी घटनाको सूची केवल विगतको क्षतिको अभिलेख होइन। यी हाम्रा कमजोरी र सिकाइका दस्तावेज पनि हुन्।हरेक विपत्तिपछि क्षतिको विवरण संकलन हुन्छ, उद्धार र राहत सञ्चालन हुन्छ, पुनर्निर्माणका लागि बजेट छुट्याइन्छ। तर विपत्ति निम्त्याउने संरचनागत कारण सुधार गर्न नसकिएमा हामी एउटै जोखिमलाई पुनः निर्माण गरिरहेका हुन्छौँ।
आज रसुवा, भोटेकोशी र त्रिशूली तटीय क्षेत्रमा बाढीले क्षति पुर्याएको छ भने भोलि अर्को नदी तटीय क्षेत्र पनि त्यही जोखिममा पर्न सक्छ। प्रश्न त्यसैले एउटा घटनाको मात्र होइन, जोखिमको स्थायी समाधानको हो।
वर्तमान चुनौती : जोखिम न्यूनीकरण
नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानुनी तथा संस्थागत संरचना छन्। तर चुनौती कार्यान्वयनमा छ।जोखिम नक्सा बनाइन्छ, तर त्यसअनुसार बस्ती विकास हुन्छ कि हुँदैन? नदी किनारमा निर्माण गर्न मिल्छ कि मिल्दैन? सडक कहाँबाट लैजाँदा सुरक्षित हुन्छ? पुल र कल्भर्टको डिजाइनले असामान्य बाढी थेग्न सक्छ कि सक्दैन? यस्ता प्रश्नको जवाफ विकास आयोजना स्वीकृत गर्नुअघि नै खोजिनुपर्छ।
विशेषगरी नदी तटीय क्षेत्रका सडक, पुल, बजार, विद्युत् आयोजना, उद्योग, होटल तथा आवासीय संरचनाको विपद् जोखिम मूल्याङ्कन अनिवार्य हुनुपर्छ। बाढी आएपछि उद्धार गर्न सजिलो बनाउनेभन्दा बाढी आउँदा क्षति नै कम हुने गरी पूर्वाधार निर्माण गर्नु बुद्धिमानी हो।
पूर्वचेतावनी र सूचना : बाढी आउनुअघि सूचना पुग्नुपर्छ
हिमाली तथा नदी तटीय क्षेत्रमा पूर्वचेतावनी प्रणालीलाई प्राथमिकता दिनुपर्छ। नदीको जलस्तर, वर्षाको मात्रा, हिमताल तथा हिमनदीको अवस्था र सम्भावित बाढीसम्बन्धी सूचना जोखिममा रहेका समुदायसम्म तत्काल पुग्ने व्यवस्था हुनुपर्छ।
सरकारी कार्यालयमा सूचना पुगेको मात्र पर्याप्त हुँदैन। सूचना जोखिममा रहेका परिवारको मोबाइल, घर, विद्यालय, बजार र समुदायसम्म पुग्नुपर्छ। मोबाइल सन्देश, साइरन, रेडियो, स्थानीय सञ्चारमाध्यम, सामाजिक सञ्जाल, स्वयंसेवक र समुदायस्तरीय संयन्त्रलाई एकीकृत गरेर प्रभावकारी पूर्वचेतावनी प्रणाली निर्माण गर्न सकिन्छ। बाढीका बेला सही सूचना पनि जीवन बचाउने साधन हो। त्यसैले अपुष्ट सूचना र अफवाहभन्दा आधिकारिक तथा विश्वसनीय सूचना प्रवाहलाई प्राथमिकता दिनुपर्छ।
नदीलाई ठाउँ, मानिसलाई सुरक्षित बस्ती
नदी तथा खोलाको प्राकृतिक क्षेत्र संरक्षण गर्नु अब विकल्प होइन, आवश्यकता हो।न दी किनार, बाढी फैलिने क्षेत्र, नदी उकास, बगर र प्राकृतिक जलनिकास क्षेत्रमा अनियन्त्रित बस्ती विस्तार रोक्नुपर्छ। जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयलाई राजनीतिक लोकप्रियताको विषय होइन, वैज्ञानिक जोखिम व्यवस्थापनको विषयका रूपमा लिनुपर्छ।
तर बस्ती स्थानान्तरण भनेको मानिसको घर मात्र सार्नु होइन। नयाँ ठाउँमा जमिन, आवास, खानेपानी, सडक, विद्युत्, शिक्षा, स्वास्थ्य, रोजगारी र जीविकोपार्जनको सुनिश्चितता हुनुपर्छ।जोखिमयुक्त नदी किनारका जमिनलाई उत्पादनसँग जोड्न सकिन्छ। कृषि, फलफूल, बगरखेती, पशुपालन, घाँसे मैदान, सामुदायिक वन तथा जलाधार संरक्षणजस्ता उपयोगबाट त्यस्ता क्षेत्रलाई सुरक्षित र उत्पादनमूलक बनाउन सकिन्छ। यसरी नदीलाई उसको प्राकृतिक क्षेत्र उपलब्ध गराउने र मानिसलाई सुरक्षित स्थानमा व्यवस्थित गर्ने नीति दीर्घकालीन समाधान बन्न सक्छ।
विकासको शैली बदल्नुपर्छ
बाढी र पहिरोको जोखिमलाई विकासको लागतसँगै जोडेर हेर्नुपर्छ।पहाडी क्षेत्रमा सडक निर्माण गर्दा भूगर्भ, ढलान स्थिरता, जलनिकास र वातावरणीय प्रभावको अध्ययन अनिवार्य हुनुपर्छ। सडकको लम्बाइ र खर्च भएको बजेटलाई मात्र विकासको सूचक मान्नु हुँदैन। सडक कति सुरक्षित, दिगो र विपद् प्रतिरोधी छ भन्ने प्रश्न पनि विकासको मापन बन्नुपर्छ।
हरेक ठूला सडक, पुल, जलविद्युत् आयोजना, बजार, औद्योगिक क्षेत्र, विद्यालय, अस्पताल तथा शहरी विस्तारमा विपद् जोखिम अडिट आवश्यक छ। ‘कति बजेट लाग्छ?’ भन्ने प्रश्नसँगै ‘यसले भविष्यको जोखिम घटाउँछ कि बढाउँछ?’ भन्ने प्रश्न पनि सोधिनुपर्छ।
साझा जोखिम
रसुवा, भोटेकोशी र त्रिशूली क्षेत्रमा देखिएको पछिल्लो बाढीले सीमापार विपद् जोखिमको गम्भीरता उजागर गरेको छ। तिब्बततर्फबाट भोटेकोशीमा आएको अचानक ठूलो बहावले नेपालतर्फ ठूलो क्षति पुर्याएको छ भने सीमापार क्षेत्रमा समेत पहिरो तथा पूर्वाधारमा असर परेको विवरण आएका छन्।नदीले सीमा चिन्दैन। त्यसैले नेपाल–चीनबीच हिमाली क्षेत्रको मौसम, नदीको बहाव, हिमताल तथा हिमनदीमा हुने परिवर्तनसम्बन्धी सूचना समयमै आदानप्रदान गर्ने र प्रभावकारी पूर्वचेतावनी प्रणाली विकास गर्ने आवश्यकता छ।सीमापार नदीको जोखिमलाई विपद् भएपछि सम्झिने होइन, जोखिम उत्पन्न हुनुअघि नै सहकार्य गर्ने विषय बनाउनुपर्छ।
निष्कर्ष
बाढी प्राकृतिक घटना हो। तर बाढीबाट हुने सम्पूर्ण क्षतिलाई प्राकृतिक भनेर पन्छिन मिल्दैन। नदीको बहाव रोक्न सकिँदैन, अत्यधिक वर्षा रोक्न सकिँदैन र हिमाली क्षेत्रमा हुने प्राकृतिक परिवर्तनलाई मानिसले नियन्त्रण गर्न सक्दैन। तर नदीको प्राकृतिक क्षेत्र जोगाउन सकिन्छ। जोखिमयुक्त ठाउँमा नयाँ बस्ती बस्न रोक्न सकिन्छ। सुरक्षित सडक, पुल र पूर्वाधार बनाउन सकिन्छ। पूर्वचेतावनी प्रणाली विस्तार गर्न सकिन्छ। आवश्यक परे जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सकिन्छ।रसुवा, भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा बाढीले पुर्याएको क्षतिलाई एउटा घटनाको रूपमा मात्र हेर्नु हुँदैन। यसलाई भविष्यको जोखिम न्यूनीकरणका लागि महत्वपूर्ण चेतावनीका रूपमा लिनुपर्छ।
अब बाढी आएपछि क्षति गन्ने होइन, बाढी आउनुअघि जोखिम घटाउने नीति आवश्यक छ। नदीको प्राकृतिक क्षेत्रलाई अतिक्रमण गरेर विकास गरेको देखावटी समृद्धिभन्दा सुरक्षित बस्ती, दिगो पूर्वाधार र सुरक्षित भविष्य महत्वपूर्ण हुन्छ। अन्ततः विपत्ति प्राकृतिक हुन सक्छ, तर त्यसबाट हुने विनाश सधैँ प्राकृतिक हुँदैन। प्रकृतिले खतरा सिर्जना गर्न सक्छ, तर त्यसलाई विपत्तिको आकार दिने वा त्यसको क्षति घटाउने निर्णय हाम्रो हातमा पनि हुन्छ।आजको राहतभन्दा भोलिको जोखिम न्यूनीकरण ठूलो हो। आजको संरचनाभन्दा भोलिको सुरक्षा ठूलो हो। र आजको विकासभन्दा भावी पुस्ताको सुरक्षित जीवन ठूलो हो। प्राकृतिक विपत्ति रोक्न नसकिएला, तर मानवीय लापरबाहीबाट हुने विनाश धेरै हदसम्म रोक्न सकिन्छ।
लिथोबाट अनलाइनसम्म : पत्रकारिताको यात्रा
प्रतीक इच्छुक शर्मा मेरो अध्ययन, लेखन र पत्रकारिता यात्राको बीउ विद्यालय जीवनमै रोपिएको थियो। प्रारम्भिक शिक्षा भुवनटाकुरीस्थित वाल कल्याण
वनगाड कुपिण्डेमा भए गरेका शैक्षिक प्रयासहरू
वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृङ्खलाको मध्यभागमा अवस्थित छ । यस नगरपालिकाको
दार्माकोट राज्यको उत्पत्ति र अन्त्य
खिम चन्द दार्माकोट राज्य पश्चिम नेपालको एक प्राचीन तथा ऐतिहासिक राज्यका रूपमा परिचित छ। इतिहासअनुसार करिब तीन सय घरधुरी समेटिएको यस राज्यको
प्रतिकृया दिनुहोस