• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

लिथोबाट अनलाइनसम्म : पत्रकारिताको यात्रा

प्रतीक इच्छुक शर्मा

मेरो अध्ययन, लेखन र पत्रकारिता यात्राको बीउ विद्यालय जीवनमै रोपिएको थियो। प्रारम्भिक शिक्षा भुवनटाकुरीस्थित वाल कल्याण प्राथमिक विद्यालयबाट सुरु गरी माध्यमिक तहको अध्ययन श्री जनज्योति माध्यमिक विद्यालयमा पूरा गरेँ। कक्षा १ देखि १० सम्म अध्ययन गर्दा म प्रायः प्रथम वा द्वितीय स्थान हासिल गर्थेँ।। पढाइप्रतिको लगावसँगै साहित्य, लेखन, वक्तृत्वकला, हाजिरीजवाफ तथा विद्यालयका विभिन्न सिर्जनात्मक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँथेँ। पुस्तक पढ्ने, आफ्ना अनुभूति डायरीमा लेख्ने र समाजका घटनालाई आफ्नै दृष्टिकोणबाट बुझ्ने बानीले सानैदेखि कलमसँग गहिरो सम्बन्ध गाँसिदियो। आज फर्केर हेर्दा महसुस हुन्छ, त्यही विद्यालय जीवनमा विकास भएको अध्ययनशीलता, सिर्जनशीलता र साहित्यप्रतिको मोहले नै पछि पत्रकारिताको बाटो रोज्ने प्रेरणा दियो। त्यसैले पत्रकारिता मेरो लागि केवल रोजगारी वा पेसा होइन, बाल्यकालदेखि हुर्कँदै आएको सपना, निरन्तर अभ्यास र समाजप्रतिको उत्तरदायित्वको स्वाभाविक विस्तार हो।

वि.सं. २०५९–२०६० तिर शाकु सन्देश मासिक पत्रिका लिथो प्रविधिबाट प्रकाशित हुन्थ्यो। त्यतिबेला कम्प्युटर टाइपको सहज पहुँच थिएन। मेरा अग्रज गणेश शाहीका हस्तलिखित अक्षरहरू यति सुन्दर र स्पष्ट थिए कि हेर्दा कम्प्युटरमा टाइप गरेजस्तै लाग्थ्यो। गणेश शाही, तिलक दाइ र म—हामी तीन जनाले करिब दुई वर्षसम्म निरन्तर शाकु सन्देश प्रकाशनमा योगदान दियौँ।

पत्रिका छाप्नका लागि हामी वाझकाँडास्थित महेन्द्र माध्यमिक विद्यालय तथा जनकल्याण मावि, थारमारेका लिथो मेसिनको सहयोग लिने गर्थ्यौँ। सीमित स्रोत, अभाव र असंख्य कठिनाइबीच पनि जनतासम्म विचार र सूचना पुर्‍याउने हाम्रो अठोट कहिल्यै कमजोर भएन।

पछि सशस्त्र द्वन्द्व क्रममा सैन्य मोर्चाको जिम्मेवारीसहित गण्डक जाने अवसर मिल्यो। गण्डक पुगेपछि जनसैन्य मोर्चाको जिम्मेवारीसँगै जनसैन्य रिपोर्टिङमा पनि सक्रिय भएँ। त्यहाँ पुगेपछि पनि कलमसँगको सम्बन्ध टुटेन। जनसैन्य मार्ग र धमका पत्रिकाको सम्पादन मण्डलमा रहेर काम गर्ने अवसर प्राप्त भयो। शाही शासनकालमा जनपक्षीय विचार बोकेका जनादेश, जनसैन्य मार्ग र धमका साहित्यिक पत्रिकाको प्रकाशन सहज थिएन। राज्यको कडा निगरानी र दमनका बीच ती पत्रिकाहरू बुटवल र पोखराका छापाखानामा प्रायः रातारात छापिन्थे। छपाइ सम्पन्न भएपछि बिहान हुनुअघि नै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइन्थ्यो। त्यस प्रक्रियामा गोपनीयता, जोखिम र जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण हुन्थ्यो। ती पत्रिकाको सम्पादन मण्डलमा आबद्ध भई जनसैन्य रिपोर्टिङ गर्ने अवसर पाउनु मेरो पत्रकारिता जीवनको एउटा महत्त्वपूर्ण अध्याय हो। त्यो केवल समाचार लेख्ने काम थिएन; विचार, अभिव्यक्तिको स्वतन्त्रता र परिवर्तनको पक्षमा कलम चलाउने साहसिक जिम्मेवारी पनि थियो।

युद्धकालका ती दिनहरू सम्झँदा आज पनि अनगिन्ती अकल्पनीय र असाधारण क्षणहरू मानसपटलमा ताजै छन्। जीवनलाई जोखिममा राखेर दर्जनौँ मोर्चामा सहभागी भयौँ। नेतृत्वले अघि सारेका योजनाहरू कार्यान्वयन गर्न अग्रपङ्क्तिमा उभियौँ, र धेरै अभियान सफल बनाउन भूमिका निर्वाह गर्‍यौँ।



समयले फेरि सल्यान फर्कायो। वि.सं. २०६३ सालमा श्रीनगर बस्दै जनउभार, जनादेश ,जनदिशा र नयाँ युगबोध पत्रिकाका लागि समाचार सङ्कलन र रिपोर्टिङ सुरु गरेँ। त्यस समय सल्यानमा जनपक्षीय पत्रकारितामा सक्रिय पत्रकारका रूपमा म लगभग एक्लै थिएँ। पत्रकारिता गर्नु भनेको समाचार लेखेर मात्र नहुने रहेछ; आफैँ पत्रिका बोकेर पाठकसम्म पुर्‍याउनु पनि उत्तिकै ठूलो जिम्मेवारी थियो। श्रीनगर, खलंगा, साहुटोल र पिपलनेटा क्षेत्रसम्म दैनिकजसो करिब ३०० प्रति पत्रिका आफ्नै हातले वितरण गर्थेँ। आजजस्तो सामाजिक सञ्जाल वा अनलाइनको सहजता थिएन। जनपक्षीय विचार बोकेका पत्रिकामा रिपोर्टिङ गर्नु, आफैँ पत्रिका बेच्दै गाउँ–बस्ती डुल्नु र पाठकसँग प्रत्यक्ष संवाद गर्नु नै त्यो समयको पत्रकारिताको वास्तविक विद्यालय थियो।

यही क्रममा मेरो पत्रकारिता यात्रामा अग्रज पत्रकार स्वर्गीय शालिकराम शर्माको साथ, विश्वास र मार्गदर्शन प्राप्त भयो। उहाँ सल्यानी सन्देश पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक हुनुहुन्थ्यो। उहाँले ममाथि विश्वास गर्दै सल्यानी सन्देशको सम्पादकको जिम्मेवारी दिनुभयो। समाचार लेख्ने शैली, सम्पादनको अनुशासन, पत्रकारिताको नैतिकता, सत्यप्रतिको प्रतिबद्धता र समाजप्रतिको उत्तरदायित्वबारे मैले उहाँबाट धेरै सिक्ने अवसर पाएँ। आज उहाँ हामीबीच हुनुहुन्न, तर उहाँले दिएको विश्वास, प्रेरणा र सिकाइ मेरो पत्रकारिता यात्राको अमूल्य सम्पत्ति बनेर सधैं साथमा छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली।

समयक्रमसँगै मेरो पत्रकारिताको यात्रा थप फराकिलो बन्दै गयो। वि.सं. २०६४ मा सल्यानी सन्देश को सम्पादकको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ। वि.सं. २०६५ देखि रेडियो शारदामा स्टेशन म्यानेजरका रूपमा कार्यरत छु। त्यसपछि एबीसी टेलिभिजन, गोरखापत्र दैनिक र नेपाल टेलिभिजनसँग जोडिएर विभिन्न माध्यममार्फत पत्रकारिता गर्ने अवसर प्राप्त भयो। आफ्नो मेहनत, लगन, परिश्रम र निरन्तरताले पत्रकारिता केवल पेसा नभई समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व हो भन्ने पाठ सिकाएको छ। यही यात्राकै क्रममा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर (एम.ए.) पूरा गरेँ र हाल कानुन विषयमा अध्ययनरत छु।

आज फर्केर हेर्दा लाग्छ—मेरो पत्रकारिताको यात्रा लिथो मेसिनबाट सुरु भयो। त्यसपछि छापाखाना, एफएम रेडियो, टेलिभिजन हुँदै अहिले डिजिटल र अनलाइन पत्रकारितासम्म आइपुगेको छ। प्रविधि बदलियो, माध्यम बदलिए, समाचार सम्प्रेषण गर्ने शैली बदलियो; तर सत्यप्रतिको प्रतिबद्धता, जनताको पक्षमा उभिने विश्वास र कलमप्रतिको निष्ठा भने कहिल्यै बदलिएको छैन।

लिथोको मसीले रङ्गिएका हातदेखि डिजिटल स्क्रिनसम्मको यो यात्रा केवल प्रविधिको विकासको कथा होइन; यो संघर्ष, समर्पण, जोखिम, निरन्तरता र जनताप्रतिको उत्तरदायित्वले लेखिएको मेरो पत्रकारिताको जीवनयात्रा हो।                                                                                                                                                 लेखक : पत्रकार महासंघ सल्यानका पूर्व अध्यक्ष हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

वनगाड कुपिण्डेमा भए गरेका शैक्षिक प्रयासहरू

वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृङ्खलाको मध्यभागमा अवस्थित छ । यस नगरपालिकाको

दार्माकोट राज्यको उत्पत्ति र अन्त्य

खिम चन्द दार्माकोट राज्य पश्चिम नेपालको एक प्राचीन तथा ऐतिहासिक राज्यका रूपमा परिचित छ। इतिहासअनुसार करिब तीन सय घरधुरी समेटिएको यस राज्यको

बुम र क्यामेराको आडमा भ्यूजको खेती: सरकारी कार्यालयमा पत्रकारहरुको स्टन्टबाजी कहिलेसम्म ?

अहिले नेपाली सञ्चार क्षेत्र एउटा गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ। हात हातमा क्यामेरा, मोबाइल र ‘बुम’ बोक्ने बित्तिकै जोसुकैले आफूलाई पत्रकार