• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

दस दिन अँध्यारो सुरुङमा,जीवनको उज्यालो लिएर फर्किए सञ्जय र कविर

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामा नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जन हुनुहुन्छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिकसहितको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान उनीहरूलाई सुरुङबाट बाहिर निकालेको हो । उद्धार टोलीले पावरहाउसतर्फ जाने सुरुङबाट उनीहरूलाई जीवित अवस्थामा फेला पारेको त्रिशूली–३ ‘ए’ आयोजनाका प्रमुख आवास ओझाले जानकारी दिनुभएको छ । उद्धार गरिएका दुवै जनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि अस्पताल पठाइएको छ । नेपाली सेनाका अनुसार कविर महर्जनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ भने सञ्जय साहको उपचार त्रिशूली अस्पतालमा भइरहेको छ ।

को हुन् सञ्जय साह ?

सप्तरीको तिलाठी कोइलाडी–८ स्थायी घर भएका ३० वर्षीय सञ्जय साह माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत हुनुहुन्छ । बाढी आएको दिन उहाँ आयोजनाको कन्ट्रोल रुममा सिफ्ट ड्युटीमा हुनुहुन्थ्यो ।

बाढीको पानी सुरुङभित्र पस्न थालेपछि बाहिर निस्कने क्रममा अरूलाई पहिले बाहिर जान लगाउँदा आफू पछि परेको र सुरुङभित्रै फसेको साहले उद्धारपछि बताउनुभएको छ ।

उहाँका अनुसार सामान्य अवस्थामा पाँच–छ जना मानिस रहने स्थानमा घटनाका दिन करिब ४०–४५ जना थिए । आफूले अरूलाई बाहिर जान लगाएपछि अन्तिममा निस्कन नसकेको उहाँले बताउनुभएको छ ।सुरुङभित्र फसेपछि साहले आफू नजिकै अन्य व्यक्तिहरू पनि रहेको जानकारी उद्धार टोलीलाई दिनुभएको छ ।

मर्मतसम्भारका लागि पुगेका थिए महर्जन

काठमाडौंका ४५ वर्षीय कविर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ कुलेखानी जलविद्युत् आयोजनाबाट माथिल्लो त्रिशूली–३ ‘ए’मा नियमित मर्मतसम्भारका लागि पुग्नुभएको थियो ।

बाढी आएको दिन बिहान परिवारसँग सम्पर्क भएपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो । परिवारले त्यसपछि उहाँको अवस्थाबारे जानकारी पाउन सकेको थिएन । दश दिनपछि उद्धार टोलीले महर्जनलाई सुरुङभित्रबाट जीवितै बाहिर निकालेको हो ।

उद्धारपछि महर्जनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । उहाँको थप उपचार भइरहेको छ ।

उद्धार टोलीले सुनेको थियो आवाज

सुरुङभित्र फसेका व्यक्तिसँग उद्धार टोलीको दोहोरो संवाद भएपछि जीवित व्यक्ति रहेको पुष्टि भएको थियो । त्यसपछि उद्धार कार्यलाई तीव्र पारिएको थियो ।

बाढीपछि सुरुङभित्र लेदो, पानी र विभिन्न संरचनाका अवशेष भरिएका कारण उद्धारमा कठिनाइ भएको थियो । सुरुङको माथिल्लो भागसम्म पुगेर अक्सिजन पठाउने व्यवस्था मिलाएपछि उद्धारको नयाँ चरण सुरु गरिएको थियो ।

उद्धार टोलीले जोखिमपूर्ण अवस्थाका बीच सुरुङको अवरोध हटाउँदै भित्र प्रवेश गरेको थियो । यस क्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

अन्य व्यक्तिको खोजी जारी

दुई जनाको जीवित उद्धार भए पनि त्रिशूली–३ ‘ए’को उद्धार अभियान सकिएको छैन । सुरुङभित्र अन्य व्यक्ति पनि फसेको अनुमानका आधारमा खोजी तथा उद्धार जारी छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आयोजनाको भूमिगत विद्युत्गृहमा मर्मतसम्भारका क्रममा करिब ४० देखि ४२ जना इन्जिनियर तथा कर्मचारी कार्यरत थिए । बाढीपछि उनीहरूमध्ये धेरैजना सम्पर्कविहीन भएका थिए ।

उद्धार टोलीले पावरहाउस क्षेत्रमा पुगेर त्यहाँ रहेका सम्भावित व्यक्तिको खोजी गर्ने तयारी गरिरहेको छ । सुरुङभित्रको अवस्था, लेदो तथा अन्य अवरोधका कारण उद्धार कार्य सावधानीपूर्वक अघि बढाइएको छ ।

दुई जनाको जीवित उद्धारपछि सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजीमा आशा थपिएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

प्रतिकृया दिनुहोस

फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले आगामी फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाले कानुनी व्यवस्थाअनुसार

राप्ती लोकमार्गको पहिरो तत्काल हटाउन सांसद मल्लको माग

प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले राप्ती लोकमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भइरहेकाले तत्काल पहिरो पन्छाएर सुरक्षित यातायात सञ्चालनको

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रास्वपाका