कपुरकोटमा स्मार्ट हुलाक सेवा सुरु
हुलाक सेवालाई डिजिटल, प्रविधिमैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारी योजनाअनुसार सल्यानको कपुरकोट गाउँपालिकास्थित हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’मा रूपान्तरण गरिएको छ ।
नेपाल सरकारको देशभरका ५० वटा पालिका हुलाक कार्यालयलाई आधुनिक र प्रविधिमैत्री बनाउने योजनाअन्तर्गत कपुरकोटको हुलाक कार्यालयमा आवश्यक उपकरण जडान गरी स्मार्ट हुलाक सेवा सुरु गरिएको हो ।
स्मार्ट हुलाक सञ्चालनमा आएसँगै कार्यालयमा चिठीपत्र तथा पार्सलको दर्ता, अभिलेख र वितरण प्रणालीलाई डिजिटल प्रविधिमार्फत व्यवस्थित गरिने भएको छ । यसका लागि कार्यालयमा ब्रान्डेड डेस्कटप कम्प्युटर, बारकोड प्रिन्टर, वायरलेस बारकोड स्क्यानर, यूपीएस, ६ टेराबाइट हार्डडिस्कसहितको एनभीआर सिसिटिभी प्रणाली, थ्री–इन–वन प्रिन्टर, ई–हाजिरी मेसिन, नेटवर्क स्विच, राउटर र स्मार्टफोन उपलब्ध गराइएको छ ।
पालिका हुलाक प्रमुख युवराज पोखरेलका अनुसार बारकोड प्रणालीमार्फत चिठी तथा पार्सलको प्रेषक, प्रापक र गन्तव्यको विवरण राख्नुका साथै दर्तादेखि वितरणसम्मको अवस्थासमेत अनुगमन गर्न सकिनेछ । यसले डाक व्यवस्थापनलाई सहज, छिटो र पारदर्शी बनाउने उहाँले बताउनुभयो ।
हुलाक कार्यालयले चिठीपत्र आदानप्रदानमा मात्र सीमित नभई सरकारी कागजात नागरिकको घरदैलोसम्म पुर्याउने सेवा पनि विस्तार गरेको छ । कार्यालयमा प्राप्त ७८ थान राहदानी प्राप्त भएको २४ घण्टाभित्रै दुई जना हल्कारामार्फत सम्बन्धित नागरिकको घरमै पुर्याएर वितरण गरिएको पोखरेलले जानकारी दिनुभयो । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) समेत हुलाकमार्फत वितरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
कपुरकोट गाउँपालिका–३ र ४ मा ‘सेम डे डेलिभरी’ अर्थात् सोही दिन डाक वितरण सेवा सुरु गरिएको छ । अन्य वडामा भने डाक अधिकतम २४ घण्टाभित्र वितरण गर्ने लक्ष्य राखिएको हुलाक कार्यालयले जनाएको छ ।
हुलाकमार्फत २० किलोग्रामसम्मका सामान देशका जुनसुकै ठाउँमा पठाउन सकिने व्यवस्था रहेको छ । तुलनात्मक रूपमा सुलभ शुल्कमा पार्सल पठाउन सकिने र विदेशबाट नेपालमा समेत हुलाकमार्फत सामान ल्याउन सकिने कार्यालयले जनाएको छ ।
प्रविधिको प्रयोग र घरदैलोमै सेवा पुर्याउने प्रणालीको विकाससँगै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सरकारी सेवा सहज रूपमा उपलब्ध गराउन स्मार्ट हुलाकले सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले हुलाक सेवालाई थप प्रभावकारी, भरपर्दो र नागरिकमैत्री बनाउने विश्वास गरिएको छ ।
कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ
कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ सल्यानमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन
नेपाली कांग्रेस सल्यानको मतदान भोलि बिहान ९ बजेदेखि हुने
नेपाली कांग्रेस सल्यानको दुई निर्वाचन क्षेत्र तथा महाधिवेशन प्रतिनिधि चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान ९ बजेदेखि हुने भएको छ। केही
छत्रेश्वरीमा २०९ जनालाई चस्मा
सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ
प्रतिकृया दिनुहोस