सल्यानका गाउँघरबाट हराउँदै ढिकी, जाँतो र पानीघट्ट
आधुनिक प्रविधिको विस्तारसँगै सल्यानका गाउँघरमा कुनै समय दैनिक जीवनका अभिन्न अङ्ग बनेका ढिकी, जाँतो, पानीघट्ट, कोल र ओखलजस्ता परम्परागत साधनको प्रयोग घट्दै गएको छ। कुटानी–पिसानीका लागि विद्युतीय मिलको प्रयोग बढेपछि पुर्खाले आफ्नै सीप, श्रम र स्थानीय स्रोतसाधनको उपयोग गरी निर्माण गरेका यी साधन संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका हुन्।केही दशकअघिसम्म गाउँका अधिकांश घरमा देखिने ढिकी र जाँतो अहिले कमै मात्रामा भेटिन्छन्। जिल्लाका दुर्गम बस्तीमा समेत विद्युत् सुविधा विस्तार भएपछि खाद्यान्न कुट्ने र पिस्ने कामका लागि विद्युतीय मिलको प्रयोग बढेको छ। कम समयमा धेरै काम गर्न सकिने र शारीरिक श्रमसमेत कम लाग्ने भएकाले परम्परागत साधनको प्रयोग घट्दै गएको स्थानीयवासी बताउँछन्।पहिले गाउँघरमा डिजेल र पानीबाट चल्ने मिलको प्रयोग बढी हुने गरे पनि पछिल्लो समय विद्युतीय मिलले त्यसको स्थान लिएको छ। आधुनिक प्रविधिको विकाससँगै गाउँको पुरानो जीवनशैलीसँग जोडिएका सामग्री हराउँदै जान थालेको बागचौर नगरपालिका–४ का जामबहादुर ओलीले बताउनुभयो।विद्युतीय मिलमा कुटानी–पिसानी गर्न सहज भएपछि परम्परागत ढिकी, जाँतोलगायतका साधन प्रयोगविहीन बन्दै गएको उहाँको भनाइ छ। दैनिक काम सहज बनाउने आधुनिक प्रविधिको विस्तारसँगै पुर्खाको जीवनशैली र स्थानीय सीपसँग जोडिएका सामग्रीको संरक्षणमा समेत ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।विगतमा ग्रामीण परिवारको दैनिक आवश्यकता पूरा गर्ने यी साधन अहिले नयाँ पुस्ताका लागि अपरिचित बन्दै गएका छन्। पहिले धान कुट्न ढिकी प्रयोग गरिन्थ्यो भने जाँतो र पानीघट्टमा मकै, कोदो, गहुँ, जौ तथा चामललगायतका खाद्यान्न पिस्ने गरिन्थ्यो। त्यसैगरी, कोलमा तोरी, उखु तथा अन्य वस्तु पेलेर तेल वा रस निकाल्ने चलन थियो।
स्थानीयस्तरमा उपलब्ध काठ, ढुङ्गा र अन्य स्रोतसाधनको उपयोग गरी स्थानीय सीपका आधारमा बनाइएका यी सामग्रीले ग्रामीण जीवनलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर, समयसँगै प्रविधिमा आएको परिवर्तन र परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा यस्ता साधनको प्रयोग र महत्त्व दुवै घट्दै गएको देखिन्छ।त्रिवेणी गाउँपालिका–५ का स्थानीय पुस्कर पुनले गाउँघरमा प्रयोग हुँदै आएका पुराना साधनको महत्त्व बुझाउन र तिनको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। आधुनिक प्रविधिका कारण दैनिक काम सहज भए पनि परम्परागत साधनको ऐतिहासिक, सांस्कृतिक र व्यावहारिक महत्त्व बिर्सन नहुने उहाँको भनाइ छ।गाउँघरमा अझै बाँकी रहेका ढिकी, जाँतो, पानीघट्ट, कोल र ओखलको पहिचान गरी संरक्षण गर्न सके तिनलाई स्थानीय सांस्कृतिक सम्पदाका रूपमा विकास गर्न सकिन्छ। यस्ता साधनको संरक्षणसँगै तिनको निर्माणमा प्रयोग भएका सीप र प्रविधिबारे नयाँ पुस्तालाई जानकारी गराउन सके पुर्खाको ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न पनि सहयोग पुग्नेछ।ढिकी, जाँतो र पानीघट्टमा कुटिएका तथा पिसिएका खाद्यान्न स्वास्थ्यका लागि लाभदायक हुने जनविश्वाससमेत स्थानीय समुदायमा छ। परम्परागत तरिकाले तयार पारिएका खाद्यान्न बढी पौष्टिक र शरीरका लागि उपयोगी हुने स्थानीय बुढापाकाको भनाइ छ। यद्यपि, खाद्यान्नको पोषण गुणस्तर उत्पादन, प्रशोधन र भण्डारणको तरिकामा समेत निर्भर गर्छ।
आधुनिक प्रविधिको प्रयोगले ग्रामीण जीवन सहज बनाइरहेका बेला परम्परागत साधनको संरक्षण गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ। प्रयोगमा नरहेका यस्ता सामग्रीको अभिलेखीकरण, संरक्षण र प्रदर्शन गर्न सके सल्यानको मौलिक ग्रामीण जीवनशैली, संस्कृति र पुर्खाको सीपलाई भावी पुस्तासम्म पुर्याउन सकिनेछ।
”दसैँको रौनक र गाउँका नलेखिएका दुःख”
प्रतीक इच्छुक शर्मा दसैँको रौनक छ। गाउँमा छु। खुसीको सीमा छैन। रहरले, बाध्यताले र आवश्यकताले गाउँ छोडेका आफन्तहरू आँगनमा भेला भएका छन्। घरआँगनमा
सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवा अझै बन्द
अस्ति बिहीबारदेखि बन्द भएका सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेका छैनन् । विश्वभर वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’
विदेशबाट फर्किएर व्यावसायिक कृषिमा खड्का
टेकवहादुर केसी ,समाचारदाता १८ वर्ष विदेशमा मजदुरी गरेर फर्किनुभएका दार्मा गाउँपालिका–५ बछेला सल्यानका प्रेमबहादुर खड्का अहिले व्यावसायिक
प्रतिकृया दिनुहोस