• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

दार्माकोट राज्यको उत्पत्ति र अन्त्य

खिम चन्द

दार्माकोट राज्य पश्चिम नेपालको एक प्राचीन तथा ऐतिहासिक राज्यका रूपमा परिचित छ। इतिहासअनुसार करिब तीन सय घरधुरी समेटिएको यस राज्यको स्थापना वि.सं. १२९८ मा श्री मोहनदत्त जार (जाट) ले गरेका थिए।

मोहनदत्त जारपछि हिराजन जारले वि.सं. १३८४ देखि १४४९ सम्म शासन गरे। त्यसपछि उनका छोरा ललितजन जारले वि.सं. १४४९ देखि १५०० सम्म राज्य सञ्चालन गरे। ललितजनका छोरा पूर्णबहादुर जारले वि.सं. १५०० देखि १५८० सम्म शासन गरे भने उनका छोरा जार जाटले वि.सं. १५८० देखि १६३० सम्म शासन सञ्चालन गरे। त्यसपछि उनका नाति भुक्तिप्रसाद जारले वि.सं. १६३० देखि १६७० सम्म दार्माकोटमा शासन चलाए।

भुक्तिप्रसाद जारको शासनकालमा प्यूठानबाट आएका केदार चन्दले दार्माकोटमा आक्रमण गरी जार शासकलाई पराजित गरेका थिए। त्यसपछि भुक्तिप्रसाद जार भारततर्फ पलायन भएको उल्लेख पाइन्छ। यस घटनासँगै वि.सं. १६७० देखि दार्माकोटमा चन्द वंशीय शासनको सुरुवात भएको मानिन्छ।

केदार चन्द प्यूठानी राजा ज्ञानचन्दका कान्छा छोरा थिए। उनका पुर्खाहरू चण्डीगढ, कुमाउँ र बैतडी हुँदै प्यूठान पुगेका थिए। केदार चन्दसँगै आएका रविदास देवकोटाको गुमेको सम्पत्ति फिर्ता दिलाइएको उल्लेख पनि इतिहासमा पाइन्छ।

केदार चन्दपछि उनका छोरा तारा चन्दले शासन सञ्चालन गरे। तारा चन्दका सन्तानमध्ये मही चन्दका तीन छोरा थिए। जेठा साधर चन्द धुनीतर्फ लागे, माइला सफल चन्द दार्माकोटका राजा बने भने कान्छा छोराको सन्तान नभएको उल्लेख पाइन्छ।

सफल चन्दपछि उनका छोरा दुर्वल चन्द, दुर्वल चन्दका छोरा कर्ण चन्द, कर्ण चन्दका छोरा रण चन्द क्रमशः दार्माकोटका राजा बने। कर्ण चन्दका कान्छा छोरा गोपाल चन्द भने गलात हुँदै पाञ्चाखोलातर्फ बसाइँ सरेका थिए।

रण चन्दका तीन छोरा थिए। जेठा मुकुन्द चन्द दार्माकोटका राजा बने, माइला धामु चन्द ढाँकाडमतर्फ लागे भने कान्छा मुनि चन्द रोल्पाकोटतर्फ गए। यसरी दार्माकोट, ढाँकाडम र रोल्पाकोट राज्यहरूबीच पारिवारिक सम्बन्ध कायम रहेको देखिन्छ।

मुकुन्द चन्दपछि मान चन्द, तारा चन्द, बल्लभ चन्द, कृपन चन्द, अवज चन्द र अमृत चन्द क्रमशः दार्माकोटका राजा बने। अमृत चन्दले जुम्ली राजालाई कर बुझाउने क्रममा आफ्नो नामको पछाडि “शाह” लेख्न थालेका थिए। त्यसपछि अम्बर शाह, अजपत शाह, अगवर शाह, अगत शाह, अजित शाह र अभान शाह क्रमशः दार्माकोटका शासक बने।

अभान शाहले वि.सं. १८०९ देखि १८४३ सम्म दार्माकोटमा शासन गरेका थिए। यसै अवधिमा नेपाल एकीकरण अभियानअन्तर्गत गोर्खाली फौजले दार्माकोटमा आक्रमण गरेको थियो। लगातार दुई दिनसम्म चलेको युद्धमा अभान शाह पराजित भए र गोर्खाली सेना विजयी भयो। त्यसपछि दार्माकोट राज्य गोर्खाली शासनअन्तर्गत समाहित भएको थियो।

यसअघि वि.सं. १७४० देखि १७४७ सम्मको अवधिमा ढाँकाडमका राजा धामु चन्द निःसन्तान भएपछि ढाँकाडम राज्य रोल्पाकोट राज्यमा गाभिएको थियो।

अन्ततः वि.सं. १८६५ मा दार्माकोट, ढाँकाडम, पाञ्चाखोला र रोल्पाकोट राज्यहरूलाई सल्यानी राज्यमा गाभिएसँगै दार्माकोट राज्यको स्वतन्त्र अस्तित्व समाप्त भएको मानिन्छ।

यसरी वि.सं. १२९८ मा स्थापना भएको दार्माकोट राज्य करिब पाँच शताब्दीभन्दा बढी समयसम्म अस्तित्वमा रही स्थानीय इतिहास, संस्कृति र शासन व्यवस्थाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको थियो।

प्रतिकृया दिनुहोस

लिथोबाट अनलाइनसम्म : पत्रकारिताको यात्रा

प्रतीक इच्छुक शर्मा मेरो अध्ययन, लेखन र पत्रकारिता यात्राको बीउ विद्यालय जीवनमै रोपिएको थियो। प्रारम्भिक शिक्षा भुवनटाकुरीस्थित वाल कल्याण

वनगाड कुपिण्डेमा भए गरेका शैक्षिक प्रयासहरू

वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृङ्खलाको मध्यभागमा अवस्थित छ । यस नगरपालिकाको

बुम र क्यामेराको आडमा भ्यूजको खेती: सरकारी कार्यालयमा पत्रकारहरुको स्टन्टबाजी कहिलेसम्म ?

अहिले नेपाली सञ्चार क्षेत्र एउटा गम्भीर संक्रमणकालबाट गुज्रिरहेको छ। हात हातमा क्यामेरा, मोबाइल र ‘बुम’ बोक्ने बित्तिकै जोसुकैले आफूलाई पत्रकार