पानीले ल्याएको खुसी : खलंगा–सितलपाटी खानेपानीको यात्रा
प्रतीक इच्छुक शर्मा
कुनै समय सल्यानको सदरमुकाम खलंगा र आसपासका बस्तीमा खानेपानीको ठूलो समस्या थियो। सार्वजनिक धारामा पानी भर्न घण्टौँ कुर्नुपथ्र्यो। पानी अड्कलेर प्रयोग गर्नुपर्ने अवस्था थियो। पानीकै विषयमा छिमेकीबीच असमझदारीसमेत हुने गथ्र्यो। गाईवस्तुलाई पानी खुवाउन र सरसफाइका लागि जिउँला, शारदा नदीतिर वा घट्टेखोलासम्म पुग्नुपर्ने बाध्यता थियो। सुख्खायाममा पानीका मुहान सुक्दै जाँदा समस्या झनै बढ्थ्यो।
समयसँगै यो अवस्था बदलिँदै गयो। घरघरमा धारा पुगेपछि पानी लिन टाढा जानुपर्ने र घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको छ। कुनै समय सास्तीको कारण बनेको पानी अहिले सहज जीवनको आधार बनेको छ।
बस्ती विस्तार र जनसंख्या बढ्दै गएपछि स्थानीय मुहानले माग धान्न नसक्ने अवस्था आयो। त्यसपछि खानेपानीको व्यवस्थापनमा नयाँ प्रविधि र पूर्वाधार थपिँदै गए। अहिले खलंगा–शीतलपाटी क्षेत्रमा खानेपानी वितरणका लागि संस्थागत संरचना बनेको छ। विगतमा स्थानीय मुहानमा निर्भर रहेको प्रणाली अहिले शारदा नदीको पानी उच्च क्षेत्रमा लिफ्ट गरी वितरण गर्ने ठूलो प्रणालीमा विकास भएको छ।
यो परिवर्तन एकैपटक आएको होइन। यसका पछाडि दशकौँ लामो सामुदायिक प्रयास, सरकारी तथा विकास साझेदारको लगानी, उपभोक्ताको सहभागिता र निरन्तर पूर्वाधार विस्तार जोडिएको छ। पानीको अभावसँग जुध्दै आएको खलंगा–शीतलपाटी क्षेत्र अहिले घरमै धाराको पानी प्रयोग गर्ने अवस्थामा पुगेको छ। यसले स्थानीय नागरिकको दैनिकी मात्र सहज बनाएको छैन, पानी व्यवस्थापनको पुरानो शैलीलाई पनि बदलिदिएको छ।
भंगेरी मुहानबाट सुरु भएको यात्रा
खलंगा क्षेत्रको खानेपानी विकासको प्रारम्भिक आधार भंगेरी मुहान थियो। वि.सं. २०३१ सालतिर भंगेरी मुहानको पानीलाई व्यवस्थित गरी साविक सेजवालटाकुरा तथा खलंगाको माथिल्लो क्षेत्रका बासिन्दालाई खानेपानी उपलब्ध गराउने प्रयास सुरु भएको थियो। सीमित आर्थिक स्रोत, प्रविधि र पूर्वाधारका बीच स्थानीय बासिन्दाको श्रम, आर्थिक योगदान र सहभागितामा विकसित भएको उक्त प्रणाली पछि भंगेरीदेखि पिपलनेटा खानेपानी उपभोक्ता समितिका रूपमा संस्थागत भयो।
त्यसैगरी सितलपाटी क्षेत्रमा स्थानीय मुहानमा आधारित खानेपानी प्रणाली सञ्चालन हुँदै आएको थियो। वि.सं. २०५४ सालमा सितलपाटी खानेपानी उपभोक्ता समिति स्थापना भएपछि उक्त प्रणालीले थप व्यवस्थित संस्थागत स्वरूप प्राप्त गर्यो।
समयक्रममा जनसंख्या र बस्ती बढ्दै गए। पुराना मुहानको क्षमता पर्याप्त हुन छाड्यो। विशेषगरी सुख्खायाममा पानीको स्रोत घट्ने, नयाँ बस्तीमा सेवा विस्तार गर्न कठिन हुने तथा अलग–अलग प्रणाली सञ्चालन गर्दा व्यवस्थापनमा समस्या देखिन थालेपछि ठूलो र एकीकृत खानेपानी प्रणालीको आवश्यकता महसुस भयो।
शारदा नदीबाट खलंगाको उचाइसम्म पानी
स्थानीय मुहानबाट बढ्दो माग धान्न कठिन भएपछि शारदा नदीलाई दीर्घकालीन स्रोतका रूपमा उपयोग गर्ने अवधारणा अघि बढ्यो। शारदा नदी खलंगा क्षेत्रभन्दा निकै तल रहेकाले नदीको पानी माथिल्लो बस्तीमा पुर्याउन लिफ्ट प्रणाली आवश्यक थियो।
यसैअनुसार शारदा नदी किनारबाट करिब ५.५ किलोमिटरभन्दा बढी दूरी पार गर्दै तीन चरणको लिफ्ट प्रणालीमार्फत पानी उच्च क्षेत्रमा पुर्याउने व्यवस्था गरियो। नदी किनारदेखि उच्च पम्पिङ क्षेत्रसम्म करिब ५५९ मिटरको उचाइ पार गर्नुपर्ने भएकाले पम्प, मोटर, विद्युत् प्रणाली तथा लिफ्ट संरचना निर्माण गरिएको हो।
आयोजनाको प्रारम्भिक निर्माण वि.सं. २०७२ चैतदेखि २०७४ पुससम्म गरिएको थियो। प्रारम्भिक लागत करिब १५ करोड ८० लाख रुपैयाँ रहेको विवरणअनुसार ७० प्रतिशत तेस्रो साना सहरी खानेपानी आयोजनाबाट, २५ प्रतिशत नगर विकास कोषबाट ऋण र पाँच प्रतिशत उपभोक्ताको योगदान रहेको थियो।
संस्थागत एकीकरण र सेवा विस्तार
खानेपानी प्रणाली विस्तारसँगै व्यवस्थापनलाई पनि एकीकृत गर्ने आवश्यकता बढ्दै गयो। भंगेरीदेखि पिपलनेटा खानेपानी उपभोक्ता समिति र सितलपाटी खानेपानी उपभोक्ता समितिलाई एकीकृत गरी वि.सं. २०७९ वैशाख ५ गते खलंगा–सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था स्थापना गरिएको हो। पछि रुप्सेपानी, रानीकोट र सिरुवारका खानेपानी प्रणालीसमेत संस्थामा समायोजन गरिएका छन्।
आयोजना सुरु हुँदा ८४१ घरधुरीमा मिटर जडित धारा पुगेका थिए। त्यसपछि दोस्रो कार्यकालमा थप एक हजार ६१७ धारा विस्तार गरिएसँगै हाल दुई हजार ४५८ मिटर जडित धारा पुगेका छन्। सेवा क्षेत्र शारदा नगरपालिका–१, २, ३, ४, ५ र १२ का विभिन्न बस्तीमा विस्तार भएको छ। रेशम जिउला र दारिम जिउलाको तल्लो भागलगायतका क्षेत्रमा समेत सेवा पुगेको संस्थाको विवरण छ।
हाल १२ हजारभन्दा बढी जनसंख्या खानेपानी सेवाबाट लाभान्वित हुँदै आएको छ। सेवा विस्तारसँगै पाइपलाइन सञ्जाल पनि बढेर करिब २२६ किलोमिटर पुगेको छ।
घरमै मिटर जडित धारा पुगेपछि पानीको उपयोग व्यवस्थित गर्न, उपभोगअनुसार महसुल तिर्न र पानीको जिम्मेवार प्रयोग गर्न उपभोक्तालाई सहज भएको छ। यसले पानी बोक्नुपर्ने बाध्यता घटाउनुका साथै सरसफाइ, खाना पकाउने, नुहाउने, विद्यालय, स्वास्थ्य संस्था, कार्यालय, होटल तथा व्यवसायमा समेत सहजता थपेको छ।
प्रविधिमा फड्को
ठूलो सेवा क्षेत्र र हजारौँ उपभोक्तालाई व्यवस्थापन गर्न संस्थाले प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिएको छ। अनलाइन भुक्तानी, मिटर रिडिङ, भौगोलिक सूचना प्रणाली (जीआईएस), सेवा क्षेत्रको डिजिटल नक्सांकन तथा SCADA प्रणाली प्रयोगमा ल्याइएको छ।
जीआईएसमार्फत पाइपलाइन, धारा, ट्यांकी तथा अन्य संरचनाको अवस्थिति अभिलेख राख्न र भविष्यमा सेवा विस्तारको योजना बनाउन सहज भएको छ। विश्व बैंकको अनुदानमा नेपालका पाँच वटा उपभोक्ता संस्थामध्ये सल्यानमा SCADA पाइलट प्रोजेक्ट सञ्चालनमा आएको र करिब चार करोड रुपैयाँ लागतमा कार्यान्वयन भएको संस्थाको विवरण छ।
यसले पम्पिङ, भण्डारण तथा वितरण प्रणालीको निगरानी र सञ्चालनलाई थप प्रविधिमैत्री बनाएको छ।
थपिँदै गएको पूर्वाधार
सेवा विस्तारसँगै भौतिक पूर्वाधार निर्माणलाई पनि निरन्तरता दिइएको छ। दोस्रो कार्यकालमा संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न सरकारी निकायसँगको समन्वय र सहकार्यबाट करिब १२ करोड ५० लाख रुपैयाँ बराबरका थप भौतिक पूर्वाधार निर्माण गरिएको संस्थाको विवरण छ।
हाल संस्थासँग दैनिक सरदर १३ लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने क्षमता रहेको विवरण छ। तीन चरणको लिफ्ट प्रणाली, १५ सय घनमिटर क्षमताका १४ वटा पानी ट्यांकी, विस्तारित पाइपलाइन सञ्जाल तथा प्रविधिमैत्री व्यवस्थापन प्रणाली संस्थाका प्रमुख पूर्वाधार हुन्।
संस्थाले वि.सं. २०८० सालमा देशकै नमुना खानेपानी आयोजनाका रूपमा सम्मान प्राप्त गरेको तथा विद्युत् वितरण केन्द्र सल्यानबाट समेत सम्मानित भएको जनाएको छ।
चुनौती पनि उत्तिकै
शारदा नदीबाट खलंगाको उच्च क्षेत्रमा पानी पुर्याउन तीन चरणको लिफ्ट प्रणाली प्रयोग भएकाले आयोजना विद्युत् तथा पम्पिङ प्रणालीमा निर्भर छ। विद्युत् आपूर्तिमा अवरोध हुँदा पानी पम्पिङ र वितरण प्रभावित हुन सक्छ। पम्प, मोटर तथा विद्युतीय उपकरणको सञ्चालन र मर्मतमा समेत नियमित खर्च आवश्यक पर्छ।
करिब २२६ किलोमिटर लामो पाइपलाइन सञ्जालको नियमित निरीक्षण, चुहावट नियन्त्रण, फुटेका पाइपको मर्मत तथा पुराना संरचनाको प्रतिस्थापन पनि चुनौतीपूर्ण छ। बढ्दो जनसंख्यासँगै भविष्यको पानी माग, वैकल्पिक स्रोतको खोजी, स्रोत संरक्षण, भण्डारण क्षमता वृद्धि र पानीको गुणस्तर कायम राख्ने विषयमा समेत दीर्घकालीन योजना आवश्यक देखिन्छ।
समाधानको बाटो
अबको प्राथमिकता उपलब्ध खानेपानी सेवालाई थप भरपर्दो र गुणस्तरीय बनाउनु हो। त्यसका लागि पानीका स्रोतको संरक्षण, नियमित पानी परीक्षण, चुहावट नियन्त्रण, पूर्वाधारको समयमै मर्मत तथा आवश्यक ठाउँमा नयाँ संरचना निर्माणलाई निरन्तरता दिनुपर्ने देखिन्छ।
विद्युत् तथा पम्पिङमा हुने खर्च घटाउन ऊर्जा बचत गर्ने प्रविधि र वैकल्पिक ऊर्जाको सम्भावना अध्ययन गर्न सकिन्छ। जीआईएस र SCADA जस्ता प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गर्दै सेवा व्यवस्थापनलाई तथ्यमा आधारित बनाउन आवश्यक छ।
अभावबाट दिगो सेवातर्फ
खलंगा–सितलपाटी खानेपानीको यात्रा एउटा आयोजनाको मात्र इतिहास होइन। यो खानेपानीको अभावबाट व्यवस्थित सेवातर्फ, स्थानीय मुहानबाट शारदा नदीको एकीकृत स्रोत उपयोगतर्फ, छुट्टाछुट्टै उपभोक्ता समितिबाट एकीकृत संस्थातर्फ र परम्परागत व्यवस्थापनबाट प्रविधिमैत्री प्रणालीतर्फको विकास यात्रा हो।
आज घरको धाराबाट सहज रूपमा पानी आउँदा त्यसको पछाडि दशकौँ लामो सामुदायिक प्रयास, उपभोक्ताको सहभागिता, सरकारी लगानी, संस्थागत नेतृत्व र निरन्तर श्रम जोडिएको छ।
दशकौँअघि भंगेरी मुहानबाट सुरु भएको सामुदायिक प्रयास आज हजारौँ धारासम्म आइपुगेको छ। अबको जिम्मेवारी भनेको यो उपलब्धिलाई टिकाउ बनाउँदै भावी पुस्ताका लागि सुरक्षित पानीका स्रोत हस्तान्तरण गर्नु हो।
लेखक : नेपाल पत्रकार महासंघ, सल्यानका पूर्वअध्यक्ष हुनुहुन्छ ।
प्राकृतिक विपद्, हाम्रो जिम्मेवारी
प्रतीक इच्छुक शर्मा आज बिहान तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा अचानक आएको ठूलो बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रका बस्ती, बजार,
लिथोबाट अनलाइनसम्म : पत्रकारिताको यात्रा
प्रतीक इच्छुक शर्मा मेरो अध्ययन, लेखन र पत्रकारिता यात्राको बीउ विद्यालय जीवनमै रोपिएको थियो। प्रारम्भिक शिक्षा भुवनटाकुरीस्थित वाल कल्याण
वनगाड कुपिण्डेमा भए गरेका शैक्षिक प्रयासहरू
वनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेशअन्तर्गत सल्यान जिल्लाको पश्चिम उत्तरतर्फ महाभारत पर्वत श्रृङ्खलाको मध्यभागमा अवस्थित छ । यस नगरपालिकाको
प्रतिकृया दिनुहोस