• मंगलबार ७-११-२०८३/Tuesday 10-27-2026

दार्माको विकासमा निरन्तरता कि क्रमभङ्गता ? सोचमा, कार्यशैलीमा र नेतृत्वमा परिवर्तनको बहस

प्रतीक इच्छुक शर्मा

दार्माको विकास कुनै एक व्यक्ति वा नेतृत्वको चमत्कार होइन। यो जनताको त्याग, तपस्या, सङ्घर्ष र योगदान तथा जनयुद्ध, जनआन्दोलन र राज्य पुनःसंरचनापछि विभिन्न समयमा भएका सामूहिक प्रयासको प्रतिफल हो। यसमा राजनीतिक नेतृत्व, जनप्रतिनिधि, कर्मचारी, सामाजिक सङ्घसंस्था, सञ्चार क्षेत्र र आमनागरिकको महत्त्वपूर्ण योगदान रहेको छ। दार्मामा विकासका जुनसुकै रेखा कोरिएका छन्, ती सबैका पछाडि कसै न कसैको प्रयास, श्रम र योगदान जोडिएको छ।

दार्मामा आजसम्म जे–जति विकास भएको छ, त्यसको जस र अपजस सबैले आ–आफ्नो भूमिका र जिम्मेवारीअनुसार लिनुपर्छ। नेतृत्वमा रहनेले उपलब्धिको जस लिन मात्र होइन, कमजोरी र असफलताको जिम्मेवारी पनि स्वीकार गर्न सक्नुपर्छ। भएका प्रयासको प्रशंसा गर्न कन्जुस्याइँ गर्नु हुँदैन, न त अपेक्षित परिणाम हासिल हुन नसकेको यथार्थ स्वीकार गर्न हिचकिचाउनु उचित हुन्छ। विगतका प्रयासलाई धन्यवाद दिँदै तिनका कमी–कमजोरीबाट सिकेर अघि बढ्नु नै विकासप्रतिको जिम्मेवार दृष्टिकोण हो।

दार्मामा सडक निर्माण भएका छन्, विभिन्न बस्तीमा सडकको पहुँच पुगेको छ र आधारभूत पूर्वाधार विकासका प्रयास भएका छन्। यी उपलब्धि महत्त्वपूर्ण छन्। तर निर्माण भएका सडकको स्तरोन्नति, खोलामा पक्की पुल निर्माण, अलपत्र योजनाको पूर्णता र गुणस्तरीय सार्वजनिक सेवाको सुनिश्चितता अझै चुनौतीका रूपमा छन्। पालिकाको मुकामसम्म कालोपत्रे सडक पुग्न सकेको छैन। कतिपय बस्तीमा भरपर्दो मोबाइल सेवा उपलब्ध छैन। स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा सुधार, शैक्षिक उपलब्धि वृद्धि तथा स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण छ।

विकासको वास्तविक मापन भौतिक संरचनाको सङ्ख्याले मात्र होइन, नागरिकको जीवनमा आएको सहजता, अवसर र परिवर्तनले गर्नुपर्छ। नागरिकले सहज यातायात, समयमा स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र भरपर्दो सञ्चार सुविधा पाउनुपर्छ। विकास निर्माणका योजनाबाट प्रत्यक्ष लाभ लिन सक्नुपर्छ।

विगतमा सङ्घ, प्रदेश र स्थानीय तहमा राजनीतिक पहुँच तथा अनुकूल परिस्थिति हुँदासमेत जनताका अपेक्षाअनुसार विकास हुन नसकेको अवस्थाको समीक्षा गर्न आवश्यक छ। केन्द्रदेखि स्थानीय तहसम्म एउटै राजनीतिक दलको नेतृत्वमा सरकार हुँदा पनि अपेक्षित विकास किन हुन सकेन? केन्द्रसँग भएको राजनीतिक पहुँचलाई स्थानीय आवश्यकता पहिचान गर्न, स्रोतसाधन जुटाउन, योजनालाई प्राथमिकतामा पार्न र निर्माण कार्य समयमै सम्पन्न गर्न कति प्रभावकारी रूपमा उपयोग गरियो भन्ने विषय महत्त्वपूर्ण हुन्छ। तीनै तहमा एउटै राजनीतिक शक्तिको नेतृत्व हुँदा पनि जनताका समस्या समाधान प्रभावकारी रूपमा किन हुन सकेन? अब झन् कसरी सम्भव होला?

यस सन्दर्भमा गम्भीर प्रश्न उठ्छ—अहिलेकै नेतृत्व र कार्यशैलीलाई निरन्तरता दिँदा निर्माण भएका सडकको स्तरोन्नति, खोलामा पक्की पुल निर्माण, अलपत्र योजनाको पूर्णता, शैक्षिक क्षेत्रको सुधार तथा भरपर्दो स्वास्थ्य र सञ्चार सेवा सुनिश्चित गर्न सम्भव छ? विगतमा अनुकूल राजनीतिक परिस्थिति हुँदासमेत अपेक्षित परिणाम हासिल गर्न कठिन भएको हो भने अब बदलिँदो परिस्थितिमा विकासलाई गति दिन के फरक गर्नुपर्छ? यी प्रश्न कुनै व्यक्ति वा दलप्रतिको पूर्वाग्रहबाट होइन, दार्माको वर्तमान अवस्था र भविष्यको आवश्यकताबाट निर्देशित हुनुपर्छ। केन्द्रमा एउटा र स्थानीय तहमा फरक विचार र आस्थाको नेतृत्व हुँदा विकासमा कति असर पर्ला भन्ने विषय पनि सोचनीय छ।

विगतमा योगदान गरेको व्यक्तिले भविष्यमा पनि योगदान गर्न सक्छ, तर विगतको योगदानकै आधारमा सधैँ नेतृत्वको निरन्तरता सुनिश्चित हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन। नेतृत्वको मूल्याङ्कन विगतको योगदानसँगै वर्तमानको कार्यक्षमता, निर्णय क्षमता, कार्यशैली, जवाफदेहिता र भविष्यको स्पष्ट योजनाका आधारमा गरिनुपर्छ। विकासका लागि स्रोतसाधन र बजेटको उपलब्धता महत्त्वपूर्ण भए पनि तिनको प्रभावकारी उपयोग गर्न पहलकदमी, सक्रियता, दूरदृष्टि र सुझबुझपूर्ण नेतृत्व उत्तिकै आवश्यक हुन्छ।

दार्माको विकासमा निरन्तरता र क्रमभङ्गताको बहसलाई यही दृष्टिकोणबाट हेर्नुपर्छ। निरन्तरताले विगतका उपलब्धि संरक्षण गर्न, संस्थागत अनुभव उपयोग गर्न र अधुरा कामलाई पूर्णता दिन सहयोग गर्न सक्छ। तर निरन्तरताका नाममा पुरानै कमजोरी दोहोरिरहने अवस्था स्वीकार्य हुन सक्दैन। अर्कोतर्फ, क्रमभङ्गता भनेको विगतका सबै प्रयास अस्वीकार गर्नु वा पुराना नेतृत्वको योगदान बिर्सनु पनि होइन। यसको अर्थ उपयोगी अनुभव र उपलब्धिलाई जोगाउँदै आवश्यकताअनुसार सोच, प्राथमिकता, कार्यशैली र नेतृत्वमा सुधार खोज्नु हो। यहीँनेर सचेत नागरिकले बुद्धि पुर्‍याउन आवश्यक छ।

अबको दार्मा निर्माणमा भौतिक पूर्वाधारसँगै उत्पादन, मानव विकास, रोजगारी र आर्थिक गतिविधिलाई प्राथमिकता दिनुपर्छ। किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था, स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगारीका अवसर र नयाँ उद्यम गर्न चाहने नागरिकलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ। सडक, पुल र भवन निर्माणले विकासको आधार तयार गर्छन्, तर ती संरचनाले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन र नागरिकको आम्दानी बढाउन सके मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ।

विकासका योजनामा पारदर्शिता, नियमित अनुगमन र परिणामप्रतिको जवाफदेहिता सुनिश्चित गर्नुपर्छ। स्रोतसाधन सीमित छन् भनेर जिम्मेवारीबाट पन्छिन मिल्दैन, तर उपलब्ध स्रोतसाधन र बाह्य परिस्थितिको बेवास्ता गरेर सबै समस्याको दोष नेतृत्वलाई मात्र दिनु पनि वस्तुनिष्ठ हुँदैन। चित्तबुझ्दो विकास नभए पनि अहिलेसम्म भएको विकासलाई थप प्रभावकारी बनाउन विगतबाट शिक्षा लिएर अघि बढ्नुपर्छ।

विगतको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका प्रतिस्पर्धी होइनन्, पूरक हुन्। पुरानो नेतृत्वसँग रहेको अनुभव, संस्थागत ज्ञान र सिकाइलाई सम्मान गर्दै नयाँ पुस्ताको सिर्जनशीलता, नवीन सोच र कार्यकुशलतालाई अवसर दिनुपर्छ। नयाँलाई अवसर दिनु भनेको पुरानाको योगदान अस्वीकार गर्नु होइन। त्यसैगरी अनुभवको सम्मान गर्नु भनेको पुरानै अभ्यासमा सीमित रहनु पनि होइन। दार्माको विकासका लागि आवश्यक क्षमता, प्रतिबद्धता र कार्यसम्पादनका आधारमा नेतृत्वको मूल्याङ्कन गर्ने संस्कार विकास गर्नुपर्छ।

विकासको जिम्मेवारी नेतृत्वको मात्र होइन, नागरिकको पनि हो। नागरिकले सार्वजनिक कामको निगरानी गर्ने, कमजोरीमाथि प्रश्न उठाउने, रचनात्मक सुझाव दिने र राम्रा प्रयासमा सहयोग गर्ने संस्कार विकास गर्नुपर्छ। राजनीतिक आस्था फरक भए पनि दार्माको विकास साझा सरोकार हो। व्यक्तिगत स्वार्थ र राजनीतिक आग्रहभन्दा माथि उठेर सहकार्य गर्न सके मात्र उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग र योजनाको सफल कार्यान्वयन सम्भव हुन्छ।

अन्ततः दार्माको विकासमा निरन्तरता कि क्रमभङ्गता भन्ने प्रश्न यक्ष प्रश्न हो। दार्मालाई अब विगतका उपलब्धिको चर्चा मात्र होइन, भविष्यको स्पष्ट कार्यदिशा चाहिएको छ। अधुरा योजना पूरा गर्ने, आधारभूत सेवा सुधार्ने, स्थानीय अर्थतन्त्र बलियो बनाउने र नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउने प्रतिबद्धता आवश्यक छ। विगतको योगदानलाई सम्मान गरौँ, वर्तमानको वस्तुनिष्ठ समीक्षा गरौँ र भविष्यका सम्भावना साकार पार्न आवश्यक नयाँ परिवर्तनलाई आत्मसात् गरौँ। सुशासन, पारदर्शिता र विकासका लागि नयाँ राजनीतिक संस्कार, शक्ति र नयाँ नेतृत्वबाट मात्र सम्भव छ। त्यसका लागि हामी सबैले रूपान्तरणसहितको सङ्कल्प गर्नुपर्छ।

जहाँबाट सकिन्छ, जसरी सकिन्छ, दार्माको विकास र समृद्धिका लागि हातेमालो गरौँ। व्यक्तिगत स्वार्थ र राजनीतिक आग्रहभन्दा माथि उठेर दार्माको हितलाई साझा लक्ष्य बनाऔँ। विगतका योगदानको सम्मान गरौँ, वर्तमानका चुनौतीको सामूहिक सामना गरौँ र भविष्यका सम्भावनालाई साकार पार्न एकजुट बनौँ।

दार्माको विकास सबैको सरोकार हो, समृद्धि सबैको साझा सपना हो र त्यसलाई साकार पार्ने जिम्मेवारी पनि हामी सबैको हो।

प्रतिकृया दिनुहोस

पानीले ल्याएको खुसी : खलंगा–सितलपाटी खानेपानीको यात्रा

प्रतीक इच्छुक शर्मा कुनै समय सल्यानको सदरमुकाम खलंगा र आसपासका बस्तीमा खानेपानीको ठूलो समस्या थियो। सार्वजनिक धारामा पानी भर्न घण्टौँ

प्राकृतिक विपद्, हाम्रो जिम्मेवारी

प्रतीक इच्छुक शर्मा आज बिहान तिब्बत क्षेत्रबाट भोटेकोशी नदीमा अचानक आएको ठूलो बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रका बस्ती, बजार,

लिथोबाट अनलाइनसम्म : पत्रकारिताको यात्रा

प्रतीक इच्छुक शर्मा मेरो अध्ययन, लेखन र पत्रकारिता यात्राको बीउ विद्यालय जीवनमै रोपिएको थियो। प्रारम्भिक शिक्षा भुवनटाकुरीस्थित वाल कल्याण

↑