• बिहीबार ८-४-२०८३/Thursday 11-19-2026

सामुदायिक वनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड, सल्यानमा संक्षिप्त कार्ययोजनाबारे छलफल

सामुदायिक वनलाई केवल वन संरक्षणको माध्यममा सीमित नराखी स्थानीय समुदायको आर्थिक समृद्धि, रोजगारी र आयआर्जनसँग जोड्नुपर्नेमा सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) सल्यानको आयोजना तथा राइट्स एन्ड रिसोर्सेसको सहकार्यमा बुधबार आयोजित सामुदायिक वनको संक्षिप्त कार्ययोजनासम्बन्धी छलफल कार्यक्रममा सहभागी जनप्रतिनिधि, वन क्षेत्रका अधिकारी तथा सामुदायिक वनका प्रतिनिधिहरूले वनको संरक्षणसँगै यसको दिगो र व्यवस्थित उपयोगमा ध्यान दिनुपर्ने बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा स्थानीय उपभोक्ताको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताए। समुदायको सक्रिय सहभागिताबिना वन संरक्षण प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै उनले वनलाई स्थानीय जनताको जीवनस्तर सुधार्ने आधारका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

उनले वन संरक्षणलाई मात्र प्राथमिकता दिएर नपुग्ने भन्दै वनमा आधारित उद्यम, स्थानीय रोजगारी र आयआर्जनका अवसर विस्तार गर्न आवश्यक रहेको बताए। सामुदायिक वनबाट प्राप्त हुने स्रोत र सम्भावनालाई स्थानीय अर्थतन्त्रसँग जोड्न सके समुदायको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो।

कार्यक्रमका विशिष्ट अतिथि कर्णाली प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले सामुदायिक वन उपभोक्ताको अधिकार संरक्षण र वनको दिगो व्यवस्थापनलाई सँगसँगै अघि बढाउनुपर्ने बताए। वन संरक्षणका नाममा उपभोक्ताले विभिन्न समस्या भोग्नुपर्ने अवस्था अन्त्य गर्न नीतिगत तथा व्यावहारिक सुधार आवश्यक रहेको उनको भनाइ थियो।

उनले सामुदायिक वनको व्यवस्थापनमा उपभोक्ताको अधिकार सुनिश्चित गर्दै स्थानीय आवश्यकता र वनको अवस्थालाई ध्यानमा राखेर योजना निर्माण गर्नुपर्नेमा जोड दिए।

फेकोफन सल्यानका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले सामुदायिक वन उपभोक्ता समूहलाई थप सक्षम, जिम्मेवार र व्यवस्थित बनाउनु अहिलेको आवश्यकता रहेको बताए। वनको संरक्षण, व्यवस्थापन र सदुपयोगलाई प्रभावकारी बनाउन संक्षिप्त कार्ययोजना महत्वपूर्ण हुने उल्लेख गर्दै उनले उपभोक्ताका अधिकार स्थापित गर्न पनि यस्ता योजनाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यस्तै, डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेशकुमार गिरीले सामुदायिक वनको दिगो व्यवस्थापनका लागि प्रचलित कानुन, नीति तथा कार्यविधिको पालना गर्दै उपभोक्ता समूहले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए। वन संरक्षण र उपयोगबीच सन्तुलन कायम गर्न सके मात्रै सामुदायिक वनको दीर्घकालीन संरक्षण सम्भव हुने उनको भनाइ थियो। यसका लागि वन कार्यालय, उपभोक्ता समूह र अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए।

छलफलका क्रममा सामुदायिक वनको दिगो व्यवस्थापन, उपभोक्ताको अधिकार, वन संरक्षण, संस्थागत सुशासन, हरित अर्थतन्त्रको प्रवर्द्धन तथा संक्षिप्त कार्ययोजना निर्माण र कार्यान्वयनका विषयमा विचार आदानप्रदान गरिएको थियो।

विशेषगरी सामुदायिक वनलाई संरक्षणको दायराभित्र मात्रै सीमित नराखी स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण आधार बनाउने विषयमा सहभागीहरूले चासो व्यक्त गरेका थिए। वनमा उपलब्ध स्रोतसाधनको दिगो उपयोग, उपभोक्ता समूहको संस्थागत क्षमता अभिवृद्धि तथा वन व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने विषय पनि छलफलमा उठेका थिए।

कार्यक्रममा फेकोफन केन्द्रीय सचिवालय सदस्य घनश्याम शर्मा, केन्द्रीय सदस्य प्रेमा अधिकारी, सिद्धकुमाख गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेत, फेकोफन कर्णाली प्रदेश सचिवालय सदस्य इन्द्रबहादुर बुढाथोकी, उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष राजेन्द्र भण्डारी, गैरसरकारी महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मी, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शिवलाल डाँगी तथा अकोरेवका कर्णाली प्रदेश अध्यक्ष प्रतीक शर्मालगायतको सहभागिता रहेको थियो।

त्यसैगरी जिल्लाका विभिन्न पदाधिकारी तथा सदस्य, १० वटै स्थानीय महासंघका अध्यक्ष तथा सचिव र विभिन्न सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

फेकोफन सल्यानका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव अरुणा खत्रीले गरेकी थिइन्। कार्यक्रममा उपाध्यक्ष डम्बर सिंह तिरुवाले स्वागत मन्तव्य राखेका थिए।

प्रतिकृया दिनुहोस

स्वघोषित उम्मेदवार नबन्न रास्वपा सल्यानको आग्रह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानका सभापति प्रकाश नेपालीले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्ने भन्दै स्वघोषणा

सल्यानमा पूर्वप्रधानमन्त्री मरिचमानको शालिक निर्माण सुरु

नेपालको प्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालेका सल्यानका स्वर्गीय मरिचमानसिंह श्रेष्ठको सम्मानमा शालिक निर्माण सुरु गरिएको छ । शारदा

दार्मामा साँझ परेपछि फोन लाग्दैन

दार्मा गाउँपालिकाको केन्द्रमै  भरपर्दो दूरसञ्चार सेवा नहुँदा सल्यानको दार्मा गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् । नेपाल टेलिकमको

↑