• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

काठ तस्करीको विषय उठाउँदै चर्चामा आएका डीएसपी रुख कटानको अनुसन्धानमा

सल्यानमा काठ तस्करीको विषय उठाउँदै चर्चामा आएका जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालीन प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीमाथि रुख कटानसम्बन्धी विषयमा वन ऐनअन्तर्गत अनुसन्धान सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका पीपल, मसला लगायतका रुख अनुमति नलिई काटिएको तथा व्यवस्थापन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा डिभिजन वन कार्यालय सल्यानले केसीमाथि अनुसन्धान थालेको हो ।

अख्तियारले उजुरीमाथि छानबिन गर्दा विषय वनसम्बन्धी भएकाले डिभिजन वन कार्यालयलाई अनुसन्धान गरी वन ऐनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा वन कार्यालयले अनुसन्धान अघि बढाएको जनाएको छ ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलका अनुसार अख्तियारको पत्रका आधारमा केसीमाथि वन ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि अधिकृत तोकिएको र केसीको बयानसमेत लिइएको उहाँले जानकारी दिनुभयो ।

“अख्तियारको पत्रका आधारमा वन ऐनअनुसार अनुसन्धान भइरहेको छ । अनुसन्धान अधिकृत तोकेर बयान लिने कामसमेत भएको छ,” प्रमुख रावलले भन्नुभयो ।

अनुसन्धान अधिकृत ललितजंग खड्काले रुख कटानसँग सम्बन्धित आवश्यक कागजात तथा अन्य प्रमाण संकलन गरी अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण संकलन भइरहेको छ ।

डिभिजन वन कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका पीपल, मसला लगायतका रुख २०८२ चैत र २०८३ वैशाखको पहिलो सातातिर काटिएका थिए । ती रुख काट्न सम्बन्धित निकायबाट आवश्यक अनुमति लिइएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।

रुख कटानबारे जानकारी पाएपछि वन कार्यालयले स्थलगत अध्ययन तथा अनुसन्धान गर्न खोजेको थियो । तर तत्कालीन प्रहरी प्रमुख केसीले प्रहरी परिचालन गरी वन कर्मचारीलाई अनुसन्धानका लागि प्रहरी कार्यालय परिसरमा प्रवेश गर्न नदिएको वन कार्यालयको दाबी छ । त्यसपछि स्थानीयले अख्तियारमा उजुरी दिएको बताइएको छ ।

यता, तत्कालीन डीएसपी केसीले आफू प्रहरी प्रमुख रहेका बेला जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका रुख जोखिमपूर्ण देखिएपछि काटिएको र कटानबारे सम्बन्धित निकायलाई जानकारी गराएको बयान दिएको स्रोतले जनाएको छ ।

वन कार्यालयले भने अनुसन्धान पूरा नभएसम्म रुख कटानमा कानुन उल्लङ्घन भए–नभएको विषयमा निष्कर्ष निकाल्न नमिल्ने जनाएको छ । अनुसन्धानबाट कानुन उल्लङ्घन भएको देखिएमा संलग्नताको अवस्थाका आधारमा वन ऐनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।

काठ तस्करीमा प्रश्न उठाएका थिए केसीले

डीएसपी केसी सल्यान प्रहरी प्रमुख रहेका बेला जिल्लामा काठ तस्करी र वन व्यवस्थापनको विषय चर्चामा आएको थियो । उहाँले कालिमाटी क्षेत्रमा सञ्चालन गरिएको दिगो वन व्यवस्थापन कार्यक्रमका क्रममा काठ तस्करी भएको भन्दै प्रश्न उठाउनुभएको थियो ।

दिगो वन व्यवस्थापनका नाममा जथाभावी रुख काटिएको भन्दै उहाँले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभएको थियो । उक्त विषयमा २०८२ साल फागुन र चैतमा विवाद भएको थियो ।

त्यस क्रममा कर्णाली प्रदेशको वन निर्देशनालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले कालिमाटी क्षेत्रमा स्थलगत अनुगमनसमेत गरेका थिए । तत्कालीन प्रहरी प्रमुख केसीले काठ तस्करी भएको दाबी गरे पनि त्यससम्बन्धी प्रमाण सार्वजनिक रूपमा प्रस्तुत गर्न नसकेको वनसम्बन्धी अधिकारीहरूले बताएका थिए ।

अहिले भने त्यही अवधिका तत्कालीन प्रहरी प्रमुख केसी जिल्ला प्रहरी कार्यालय परिसरमा रुख कटान भएको विषयमा वन ऐनअन्तर्गतको अनुसन्धानमा परेका हुन् ।

वन कार्यालयका अनुसार प्रहरी कार्यालय परिसरमा रहेका आठवटा रुख काटिएको विषयमा उजुरी परेको छ । स्थानीयका रुखसमेत काटिएको विषय उजुरीमा उल्लेख गरिएको बताइएको छ । रुख काटिएको विषयलाई लिएर त्यसबेला स्थानीयले समेत विरोध जनाउँदै अनुमति नलिई रुख काटिएको भए संलग्न व्यक्तिमाथि कारबाहीको माग गरेका थिए ।

अख्तियारको निर्देशनपछि डिभिजन वन कार्यालयले अनुसन्धान अघि बढाएसँगै उक्त विषय पुनः चर्चामा आएको हो । वन कार्यालयले अनुसन्धान पूरा भएपछि रुख कटानमा कानुन उल्लङ्घन भए–नभएको तथा संलग्नताको अवस्थाका आधारमा वन ऐनअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

प्रतिकृया दिनुहोस

छत्रेश्वरीमा २०९ जनालाई चस्मा

सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ

सल्यानका ११ वडा कार्यालय भवन निर्माण हुन बाँकी

सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । केही वडामा चालु आर्थिक वर्षमै भवन निर्माण सुरु गर्ने

कालिमाटीमा एक जनामा औलो संक्रमण पुष्टि

सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको